वैदेशिक रोजगारीका नाममा ठगी गर्ने तीन जना पक्राउ


काठमाडौं – वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा तीन जना पक्राउ परेका छन्। केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार दैलेखको नौमुले गाउँपालिका–८ का २९ वर्षीया ज्वालाकुमारी चन्द, कास्कीको पोखरा महानगरपालिका–१२ का ३९ वर्षीया भीमकुमारी गुरूङ र गोरखाको सिरानचोक गाउँपालिका–६ का ३७ वर्षीय भगवान्राज ठकुरीलाई मङ्गलबार पक्राउ गरिएको हो।

पक्राउ परेकामध्ये ज्वालाकुमारीले अजरबैजान पठाइदिन्छु भन्दै एक जना पीडितबाट रु तीन लाख ३४ हजार, भीम कुमारीले हङकङ पठाइदिन्छु भनेर अर्का एक जना पीडितबाट पाँच लाख रूपैयाँ र भगवान्राजले बेलायत पठाइदिने प्रलोभनमा एक लाख २० हजार रूपैयाँ ठगेका थिए।

पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो। अभियुक्तहरूलाई कारबाहीको लागि ताहाचलस्थित वैदेशिक रोजगार विभाग पठाइएको छ।