काठमाडौं – आरोग्य (वेलनेस) पर्यटनलाई प्राथमिकतामा राखेको सरकारले १० वर्षे गुरुयोजना सार्वजनिक गरेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ‘राष्ट्रिय आरोग्य पर्यटन रणनीति (सन् २०२६–२०३५ सम्म) तथा कार्ययोजना (सन् २०२६–२०३०)’ तयार गरेको हो।
सरकारले सार्वजनिक गरेको यस्तो आरोग्य पर्यटनको रणनीतिलाई तीन चरणमा कार्यान्वयन गर्ने उल्लेख छ। २०२६–२०२७ लाई आधारभूत चरण मानिएको छ। यो समयमा १ हजार पर्यटक भित्र्याउने र २ मिलियन डलर आम्दानी गर्ने पनि उल्लेख छ।
रणनीतिले २०२८–२०२९ लाई दोस्रो चरण मानेको छ। यो समयमा ५ हजार पर्यटक र १२ मिलियन डलर आम्दानी गर्ने भनिएको छ भने २०३० पछिलाई तेस्रो तथा नेतृत्व चरण मानेको छ। सन् २०३० पछि वार्षिक १० हजारभन्दा बढी खर्चालु पर्यटक भित्र्याउने लक्ष्य राखेको छ। यसबाट वार्षिक ३० मिलियन अमेरिकी डलर अर्थात् करिब ४ अर्ब नेपाली रुपैयाँ राजस्व सङ्कलन गर्ने पर्यटन मन्त्रालयको अनुमान छ।
याे रणनीतिले चरणबद्ध रूपमा आम्दानी र पर्यटक आगमनको प्रक्षेपण गरेको छ। सुरुवाती वर्षहरूमा मापदण्ड र पूर्वाधार विकासमा केन्द्रित हुनेछ। मन्त्रिपरिषद्ले १३ चैतमा स्वीकृत गरेको शासकीय सुधारसम्बन्धी १०० बुँदे कार्ययोजनामा पर्यटन र नागरिक उड्डयन क्षेत्रलाई सुरक्षित, आधुनिक र आकर्षक बनाउने योजनालाई मुख्य प्राथमिकता दिएकाे छ। कार्ययोजनाले नेपालको आरोग्य पर्यटन क्षेत्रमा गरिने काम, यस अवधिमा आउने पर्यटक र उनीहरूबाट हुने आम्दानी लगायतका लक्ष्य समेटेकाे छ। सरकारले ‘आरोग्य पर्यटन गन्तव्य नेपाल, आर्थिक समृद्धिको आधार’ दूरदृष्टि राखेर रणनीति तयार पारेकाे हाे।



About Us
प्रतिक्रिया