नक्कली सुन र विदेशी मुद्रा देखाएर ठगी गर्ने समूह पक्राउ, ४० बन्डल कागजको मुद्रा बरामद 


काठमाडौं – नक्कली मुद्रालाई सक्कली मुद्रा भन्दै ठगी गर्ने गिरोहरूलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा उदयपुरका मिलन कुमार तामाङ, योग बहादुर तामाङ, भविन्द्र कुमार तामाङ, प्रबिन महतो, मुना धामी र चितवनका मुना धामी रहेका छन्।

काठमाडौंको वडा एरियामा सक्कली जस्तै देखिने नक्कली मुद्रा सजिलै साट्न र प्रयोग गर्न सकिने भनी विश्वासमा पारी सक्कली मुद्रा भन्दा दुई गुणा बढी मुद्रामा सटही गरिदिने भन्दै पीडितलाई झुक्यानमा पारी ठगी गर्न उनीहरूलाई खोज्ने गिरोहलाई विशेष सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।

उनीहरूलाई कीर्तिपुर– ०६ पाण्डेछापस्थित सडक बाटोबाट नियन्त्रणमा लिई थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी परिसर भद्रकाली, काठमाडौं पठाइएको प्रहरीले जनाएको छ। 

प्रहरीका अनुसार उनीहरूले पहिलो पटक सानो रकमको कारोबार गर्दा सक्कली मुद्रा दिएर विश्वास दिलाउने गरेका थिए। विश्वासमा पारे पश्चात् ठुलो रकमको लागी पीडितलाई मनाई नक्कली मुद्रा जस्तो देखिने कागजको बन्डल तयार गरी ठगी गर्ने गरेको पीडितहरूलाई जग्गा दिलाइदिन्छु भन्दै बैना रकम लिने र केही समय पश्चात् काम गर्न नसकिने भन्दै नक्कली मुद्रा दिई ठगी गर्ने गरेको खुल्न आएको छ। 

त्यस्तै,  उनीहरूको साथबाट प्रहरीले २ वटा झोलामा ४० बन्डल कागजको मुद्रासहित गाडी र  विभिन्न कम्पनीका मोबाइल ७ थान बरामद गरेको छ। साथै, उनीहरूको अन्य विभिन्न कसुरमा पहिला नै मुद्दा रहेको समेत खुल्न आएको छ।