विद्युतीय सरकारी खरिद प्रणालीमा अनधिकृत पहुँच पुर्‍याई ठेक्का विवरण हेरफेर गर्ने दुई जना पक्राउ 


काठमाडौं – सार्वजनिक खरिद अनुगमन कार्यालयको विद्युतीय सरकारी खरिद प्रणालीमा अनधिकृत पहुँच पुर्‍याई ठेक्काका विवरण हेरफेर गरेको आरोपमा थप दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा ईन्कोन प्रालिका शेयरधनी तथा लेखापाल स्वदेश पोखरेल र कल्पवृक्ष बिल्डर्स प्रालिको सञ्चालक प्रकाश ढुंगाना रहेका छन्। 

उनीहरूले ई–सरकार खरिद प्रणालीमा पहुँच पुर्‍याई ठेक्काहरूको आर्थिक प्रस्ताव खोल्नु भन्दा अगावै आर्थिक प्रस्तावको डकुमेन्ट परिवर्तन गर्ने गरेको प्रहरीले जनाएको छ। उनीहरूमाथि साइबर ब्यूरो भोटाहिटीमा विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा मुद्दा दर्ता गरी काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति समेत लिएको थियो। 

उनीहरूलाई केन्द्रीय अनुसन्धान ब्युरोबाट खटिएको प्रहरीको टोलीले पक्राउ गरेको हो। उनीहरूलाई पक्राउ गरी हाल परिवर्तन भएको सङ्गठित अपराध निवारण ऐन, २०७० अन्तर्गतको कसूरमा थप अनुसन्धान कार्य भइरहेको ब्युरोले जनाएको छ।