रोजगारीको लागि विभिन्न देशहरूमा पठाइदिन्छु भन्दै ४८ लाख ठग्ने तीन जना पक्राउ 


काठमाडौं – बेरोजगार युवायुवतीहरूलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि विभिन्न देशहरूमा लैजाने भन्दै ठगी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा उदयपुरका विष्णु बुढाथोकी, काठमाडौंकी सुस्मिता महर्जन र मकवानपुरका शक्ति लामा रहेका छन्। 

प्रहरीका अनुसार बुढाथोकीले ब्रुनाई पठाइदिन्छु भन्दै ४ लाख ५० हजार, महर्जनले अष्ट्रिया पठाइदिन्छु भन्दै १७ लाख र लामाले अजरवैजान र फिजी पठाइदिन्छु भन्दै ६ जना बाट २६ लाख ६३ हजार ठगी गरेको प्रहरीले बताएको छ। साथै, लामाको इलाका प्रहरी कार्यालय तुल्सीपुर दाङमा बैंकिङ्ग कसुरमा ५ लाख बिगो रहेको मुद्दा रहेको पाइएको छ। 

उनीहरूलाई काठमाडौं उपत्यकाका विभिन्न स्थानहरूबाट पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौंमा पठाइएको  प्रहरीले जनाएको छ।