चितवन –जिल्ला अदालतबाट फैसला भई फरार रहेका ५८० जनालाई पक्राउ गरिएको छ। उनीहरुलाई जिल्ला विभिन्न ठाउँबाट पक्राउ गरिएको हो। फैसला कार्यान्वयनका लागि पक्राउ परेकाहरुबाट १०१ वर्ष १० महिना १९ दिन कैद भुक्तान गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रविन्द्र खनालले जानकारी दिए। उनीहरुबाट पाँच करोड ३६ लाख ५४ हजार १७ रूपैयाँ जरिवाना असुल गरिएको उनले बताए।
सूचना अधिकारी खनालका अनुसार फैसला कार्यान्वयनका लागि जिल्ला प्रहरी कार्यालयसहित विभिन्न निकायको सक्रियता आवश्यक छ। उनले भने,‘फैसला कार्यान्वयनका लागि प्रहरीले सादा पोसाक र बर्दिमा प्रहरी परिचालन गरिएको छ।’
गत आवमा फैसला कार्यान्वयनका लागि ५८३ जना पक्राउ परेका थिए। उनीहरुबाट १२७ वर्ष छ महिना तीन दिन कैद भुक्तान भएको थियो। पक्राउ परेका उनीहरुले दुई करोड ५८ लाख ७९ हजार ४१९ रूपैयाँ जरिवाना भुक्तान गरेका थिए।
फैसला कार्यान्वयनका क्रममा जिल्ला बाहिर कैद तथा जरिवाना भुक्तान गर्नुपर्नेहरुलाई पक्राउ गरिएको सूचना अधिकारी खनालले जानकारी दिए। कार्यालयले चालु आवमा ५३ सवारी चालकले लागुऔषध सेवन गरेर सवारी चलाएको पाइएको उनले जानकारी दिए।



About Us
प्रतिक्रिया