काठमाडौं – वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा रौतहटका मिथिलेश कुशवाहा, भोजपुरका केदार बहादुर भण्डारी, सप्तरीका राम तुला मिया र भक्तपुरकी सुनिता खत्री रहेका छन्।
पक्राउमध्ये मिथिलेशले कुवेत पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख ५० हजार रुपैयाँ, केदार बहादुरले पोर्चुगल पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख २५ हजार रुपैयाँ तथा राम तुला र सुनिताले अल्बानिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख ५० हजार रुपैयाँ लिई सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले केदार बहादुरलाई काठमाडौं महानगरपालिका–१३ बाट सोमबार, मिथिलेशलाई काठमाडौं महानगरपालिका–१२ बाट आइतबार तथा राम तुला र सुनितालाई भक्तपुर मध्यपुर थिमी नगरपालिका–१ बाट शनिबार पक्राउ गरेको हो। उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ।



About Us
प्रतिक्रिया