नेपाल बैंकको भष्ट्रचार प्रकरणः तत्कालीन अध्यक्षलाई साथ दिने तामाङविरुद्ध मुद्दा दायर


काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हिमाल तराई कन्सट्रक्सन प्रालिका प्रोप्राइटर राजमान तामाङ्गमाथि भ्रष्टाचार दायर गरेको छ। आयोगका अनुसार चन्द्र बहादुर अधिकारीसमेत प्रतिवादी रहेको प्रकरणमा सरकारी साक्षी राजमान तामाङले अदालतमा दिएको बकपत्र अनुसन्धानका क्रममा दिएको बयानसँग बाझिएको पाइएको छ।

उनलाई अनुसन्धानमा सहयोग गरेको आधारमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५५ बमोजिम सजायमा छुट दिई सरकारी साक्षी बनाइएको थियो। तर, विशेष अदालत काठमाडौंमा २०८२ चैत ५ गते दिएको बकपत्र आयोगमा दिएको बयान र प्रमाण विपरीत देखिएपछि थप अनुसन्धान गरिएको हो।

अनुसन्धानबाट चन्द्र बहादुर अधिकारीले नेपाल बैंक लिमिटेडको सञ्चालक समितिको अध्यक्ष पदमा रहँदा रमेश आचार्यसँग मिलेमतो गरी तामाङलाई ऋण सुविधा मिलाइदिने बहानामा पाँच लाख रुपैयाँ घुस माग गरेको आयोगले जनाएको छ। उक्त रकम बराबरको चेक तामाङबाट आचार्यमार्फत लिइएको र पछि अधिकारीको निवासबाट बरामद भएको आयोगले जनाएको छ।

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा ९(३) अन्तर्गतको कसुरमा ५ लाख बिगो कायम गरी कैद र बिगो बमोजिम जरिवाना मागदाबी आज विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर गरिएको आयोगले जनाएको छ।