काठमाडौं – २०८२ सालमा देशभर प्रहरीमा ५० हजारभन्दा बढी उजुरी परेकामध्ये ३३ हजारभन्दा बढी व्यक्ति पक्राउ परेका छन्। प्रहरी प्रधान कार्यालयका अनुसार आर्थिक वर्ष २०८२ वैशाखदेखि चैतसम्म ५० हजार १६५ मुद्दा दर्ता भएका छन् र तीमध्ये ३३ हजार ३३४ जना विभिन्न कसुरमा पक्राउ परेका हुन्।
प्रहरीका अनुसार चोरी, ठगी, लागू औषध कारोबार, साइबर अपराध र वित्तीय अनियमितताजस्ता कसुरमा मुद्दा दर्ता भएका छन्। तीमध्ये सबैभन्दा बढी उजुरी बैंकिङ्ग कसुरसँग सम्बन्धित छन्। त्यसपछि लागू औषध, चोरी, ठगी र साइबर अपराधका उजुरी धेरै रहेका छन्।
बैंकिङ्ग कसुरमा सबैभन्दा बढी उजुरी
प्रहरी तथ्यांकले अन्य अपराधको तुलनामा आर्थिक अपराधका उजुरी उल्लेख्य रूपमा बढी रहेको देखाएको छ। विज्ञहरूका अनुसार वित्तीय कारोबारको विस्तारसँगै यस्ता अपराध बढ्दै गएका छन्। यस अवधिमा मात्रै बैंकिङ्ग कसुरमा ११ हजार ६२७ उजुरी परेका छन् भने करिब ९ सय जना पक्राउ परेका छन्।
प्रहरीका अनुसार पछिल्लो समय आर्थिक तथा वित्तीय अपराध तीव्र रूपमा बढिरहेका छन्। काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रवीण धितालका अनुसार आर्थिक अपराधमध्ये बैंकिङ्ग कसुरका घटना सबैभन्दा बढी छन्। ‘अनुसन्धान प्रविधिमा सुधार र एआई प्रविधिको प्रयोगले अपराध अनुसन्धान छिटो र प्रभावकारी भएको छ,’ उनले बताए।

उच्च पदस्थसमेत अनुसन्धानको दायरामा
यस वर्ष विभिन्न उच्च पदस्थ व्यक्ति तथा बैंक तथा वित्तीय संस्थाका कर्मचारीसमेत अनुसन्धानको दायरामा परेका छन् । केही बैंकका पूर्व तथा बहालवाला उच्च अधिकारीहरू कर्जा दुरुपयोग र आर्थिक अनियमितताको आरोपमा पक्राउ परेका घटनाहरू सार्वजनिक भएका छन्।
राजस्व संकलनमा पनि वृद्धि
प्रहरीले अवैध गतिविधि नियन्त्रणका क्रममा एक वर्षमा २ अर्ब ४७ करोड ३५ लाख रुपैयाँ राजस्व संकलन गरेको जनाएको छ। अवैध सामान बरामद, ट्राफिक कारबाही, हुण्डी कारोबार, स्रोत नखुलेको रकम, अवैध सुनचाँदी, नदीजन्य पदार्थ उत्खनन, काठ तथा पशुपंक्षी कारोबारबाट उक्त रकम संकलन गरिएको हो। प्रहरीका अनुसार जुवा सम्बन्धी कसुरमा २६२ उजुरी परेका छन् भने १ हजार ७८८ जना पक्राउ परेका छन्। मुद्रा सम्बन्धी कसुरमा २८ उजुरी र ५४ जना पक्राउ परेका छन्।
त्यस्तै, ठगी तथा आपराधिक विश्वासघातसम्बन्धी १ हजार ९ सय २७ उजुरीमा ७२५ जना पक्राउ परेका छन्। चोरीका घटनामा ३ हजार ४५५ उजुरी दर्ता हुँदा ४ हजार ९२७ जना पक्राउ परेका छन्। साइबर अपराधमा ३०२ उजुरीमा १८६ जना पक्राउ परेका छन्। त्यस्तै, गत आर्थिक वर्ष (आव) २०८१/८२ मा काठमाडौं जिल्लामा मात्रै ६ हजार ५ सय ५३ वटा मुद्दाहरू बैंकिङ्ग कसुरका दर्ता भएको थियो।
गत अवमा नेपालभर बैंकिङ्ग कसुरमा कुल १३ हजार ८३७ वटा मुद्दा दर्ता भएका थिए। साथै, गत आर्थिक वर्षमा काठमाडौं उपत्यकामा ८ हजार ८०, मधेशमा १ हजार २७८, कोशीमा १ हजार २५३, लुम्बिनीमा ८८२, गण्डकीमा ८०६, बागमतीमा ७९८, सुदूरपश्चिममा ४४३ र कर्णालीमा २९७ वटा बैंकिङ्ग कसुरका उजुरी प्रहरीमा परेका थिए।



About Us
प्रतिक्रिया