काठमाडौं – आज बुधबारदेखि देशभर दोस्रो राष्ट्रिय आर्थिक गणना सुरु भएको छ। राष्ट्रिय तथ्यांक कार्यालयले गणनाका लागि गणक तथा सुपरीवेक्षकहरू देशभर परिचालन भइसकेको जनाएको छ।
कार्यतालिकाअनुसार स्थलगत तथ्यांक संकलनको काम आगामी असारको पहिलो साताभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ। यसका लागि करिब ५ हजार जनशक्ति परिचालन गरिएको कार्यालयले जनाएको छ। गणनामा उद्योग, व्यवसाय, सेवा क्षेत्र, सहकारी, निजी तथा सार्वजनिक संस्थाहरूको संख्या, प्रकृति, लगानी, रोजगारी, उत्पादन र सेवा प्रवाहसहित १८ वटा सूचकसम्बन्धी विवरण संकलन गरिनेछ।
यसपटक दर्ता भएका वा नभएका सबै प्रकारका सानाठूला व्यापारिक प्रतिष्ठान, स्वरोजगार इकाइ तथा बढी रोजगारी दिने संस्थाहरूको समेत तथ्यांक समेटिनेछ। साथै, उद्योग, कलकारखाना, व्यापारव्यवसाय, गैरसरकारी संस्था, सरकारी संस्थान, विद्यालय र अस्पतालहरूको पनि गणना गरिनेछ। २०७५ सालमा गरिएको पहिलो आर्थिक गणनामा देशभर ९ लाख २३ हजारभन्दा बढी प्रतिष्ठान सञ्चालनमा रहेको तथ्यांक सार्वजनिक भएको थियो।



About Us
प्रतिक्रिया