काठमाडौं – स्राेत नखुलेको हुण्डी रकमसहित पर्सामा एक जना युवक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार विशेष सूचनाको आधारमा वीरगञ्ज महानगरपालिका–१० आदर्शनगरस्थित नबिल बैंक अगाडिको सडक खण्डमा संकास्पद रूपमा हिँडिरहेका एक व्यक्तिलाई नियन्त्रणमा लिई तलासी गरिएको थियो।
तलासीका क्रममा उक्त व्यक्तिको सेतो जिन्स पाइन्टको खल्तीमा नेपाली रुपैयाँ ५०० दरका नोट ८६८ थान—जम्मा ४ लाख ३४ हजार—फेला परेको प्रहरीले जनाएको हो । रकमको श्रोत खुल्न नसकेपछि उक्त रकम बरामद गरी पक्राउ परेका व्यक्तिमाथि आवश्यक कानुनी कारबाही अघि बढाइएको छ।
पक्राउ परेका व्यक्ति वीरगञ्ज महानगरपालिका–१६ निवासी १९ वर्षीय किशन यादव हुन् । प्रहरीका अनुसार यादवविरुद्ध मुलुकी अपराध संहिता, २०७४ को दफा १२५ (क) अनुसार हुण्डी कारोबार सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी पर्सा जिल्ला अदालतबाट ५ दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको छ।





About Us
प्रतिक्रिया