काठमाडौं – सुन तस्करी अभियोगमा पूर्वसभामुख तथा माओवादी नेता कृष्णबहादर महरा पक्राउ परेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयको गोदामबाट करोडौँ मूल्य बराबरको सुनसहितको २ वटा सुटकेशभित्र ७३ बट्टामा रहेको ७३० थान ईलेक्ट्रिक सिगरेट अवैध रूपमा नेपालमा ल्याउँदै गरेको अवस्थामा जफत गरेको प्रकरणमा पूर्व सभामुख तथा माओवादी केन्द्रका नेता महरा पक्राउ परेका हुन् ।
भन्सार ऐन, २०६४ र संगठित अपराध सम्बन्धी कसुरमा संलग्न रहेको ठहरसहित उनलाई आइतबार पक्राउ गरिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार, २०७९ माघ १० गते दुबईबाट फ्लाई दुबईको उडान नम्बर FZ0587 मार्फत नेपाल आएका चिनियाँ नागरिक लि ह्यान्सङ (राहदानी नं. EJ6350030 )ले २ वटा सुटकेसमा लुकाइछिपाई ल्याएको ७३ बट्टा (७३० थान) इलेक्ट्रोनिक सिगरेट (भापहरू) त्रिभुवन विमानस्थल भन्सार कार्यालयले जफत गरी स्टोरमा राखेको थियो।
तर, ती वस्तुहरू भन्सार कार्यालयका नायव सुब्बा रेवन्त खड्काको जिम्मामा राखिएको अवस्थामा स्टोरबाट गायब भएका थिए। अनुसन्धानबाट ती भेप्सभित्र ८ करोड ५५लाख २८ हजार बराबरको सुन रहेको र त्यसलाई बेचबिखन गरी आपराधिक लाभ लिएको ठहर भएको प्रहरीले जनाएको छ।
उक्त घटनामा संलग्न रहेको आशंकामा खड्का सहितको आपराधिक समूहमार्फत यो कारोबार भएको र त्यसमा पूर्व सभामुख महराको पनि प्रत्यक्ष संलग्नता देखिएकाले उनलाई पक्राउ गरिएको बताइएको छ। प्रहरीका अनुसार, महरा हाल ललितपुर महानगरपालिका–२६, खुमलटारमा बस्दै आएका थिए। रोल्पा जिल्लाको साविक लिवाङ गाविस–७ का स्थायी बासिन्दा ६८ वर्षीय महराविरुद्ध थप अनुसन्धान जारी रहेको प्रहरी स्रोतले जनाएको छ।





About Us
प्रतिक्रिया