दसैंको अफरमा ‘ठगीको जाल’: चाडपर्व लक्षित अफरको जालोबाट जोगिन के गर्ने ?


काठमाडौं – चाडपर्वको मौसममा बजारमा छुट, अफर, बोनस र उपहारको बहार हुन्छ । र, त्यही अवसरमा स्क्यामरहरू पनि सक्रिय हुन्छन् । दसैं, तिहार जस्ता चाडपर्वमा मानिसहरू सहज रूपमा अफरमा आकर्षित हुने भएकाले साइबर अपराधीहरूको लागि यो सुनौलो अवसर जस्तै बन्ने गरेको छ ।

प्रविधिको क्षेत्रमा पछिल्ला वर्षहरूमा उल्लेखनीय प्रगति भए पनि, यसको दुरुपयोगका घटनाहरू पनि बढ्दै गएका छन्। बैंकिङ्ग प्रणाली, शिक्षा, स्वास्थ्य सेवा, व्यापार लगायत सबै क्षेत्र डिजिटल भइसकेको छ, तर यस्तै डिजिटल विकासले स्क्यामरहरूलाई नयाँ तरिकाले सक्रिय हुने मौका पनि दिएको छ ।

सामाजिक सञ्जालमा झुटा प्रोफाइल बनाएर स्क्यामरहरूले मानिसहरूलाई ठग्ने गरेका हुन्छन् । दसैं नजिकिँदै गर्दा बजारमा अफर र छुटहरूको वर्षा भइरहेको छ, र साइबर अपराधीहरूले त्यसको फाइदा उठाएर नक्कली वेबसाइट, नक्कली मोबाइल एप वा आकर्षक अफरमार्फत ठगी गर्ने प्रयास बढाइरहेका छन्।

स्क्यामको सामान्य रूप चाडपर्वको अवसरमा स्क्यामरहरूले प्रायः यी तरिकाहरू अपनाउँछन्:

  • दसैं अफर’ मा कार जित्नुभयो भन्ने झुटा सूचना पठाउने।
  • लिङ्क खोल्न आग्रह गर्दै पुरस्कार लिनुहोस् भन्दै बैंक वा सरकारी नामको झुटो सन्देश पठाउने।
  • बोनस ट्रान्सफरका लागि केवाईसी आवश्यक छ भन्दै व्यक्तिगत विवरण माग्ने।
  • नक्कली वेबसाइट बनाएर दसैं छुटको अफर देखाउने।
  • सामाजिक सञ्जालमा लाइक, सेयर, कमेन्ट गरेपछि च्याटमार्फत स्क्याम लिङ्क पठाउने ।
  • पैसा पठाएपछि सामान नपठाउने वा नक्कली सामान पठाउने ।

जोगिनको उपायः
साइबर ठगीबाट बच्नका लागि केही आधारभूत सावधानीहरू अपनाउन सकिन्छः
 अनधिकृत वेबसाइट वा लिङ्कमा क्लिक नगर्नुहोस् ।
 मोबाइलमा आएको अनौठो अफर वा पुरस्कारप्रति तुरुन्त विश्वास नगर्नुहोस् ।
 बैंक वा डिजिटल वालेटको गोप्य विवरण कसैसँग नदिनुहोस् ।
 शंका लागेमा तुरुन्तै नजिकको प्रहरी कार्यालय वा साइबर सेलमा सम्पर्क गर्नुहोस् ।
दसैंको रमाइलो मौसममा सतर्कता नै सुरक्षा हो ।