बैंकिङ्ग समाचार, काठमाडौं ।
मर्जरपछि एकिकृत नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडेले अब नेपालमा ७/८ वटा मात्रै वाणिज्य बैंकहरु रहने प्रतिक्रिया दिएका छन । बुधबार एकीकृत कारोबार शुभारम्भ कार्यक्रममा अध्यक्ष पाँडेले यस्तो बताएका हुन । कार्यक्रममा बोल्दै उनले इन्भेष्टमेन्ट बैंकको ३६ बर्ष र मेगा बैंकको १२ बर्षको अनुभव एकीकृत भएको बताए ।
पाण्डेले तत्कालीन गभर्नर चिरञ्जीवी नेपाललाई बैंक धेरै भएकाले मर्जर गर्न आफूले सुझाव दिएको स्मरण गर्दै उनले भने, ‘मलाई गभर्नरले सोध्नु भयो, पाण्डेजी बैंक धेरै भए अब के गर्ने,’ उनले भने, ‘मैले गभर्नर साहेब बैंक ३२ वटा छन् मर्जर गरौं भनें । उहाँले धेरै ठाउँमा त्यही भन्नुभएछ ।’ अहिले बैंक मर्रजको पहिलो चरण भएको भन्दै पाँडेले दोस्रो चरणमा बैंकको संख्या बढीमा ७/८ वटा मात्रै हुने बताए ।
उनले भारत, बंगलादेश, थाईल्यान्ड लगायतका देशको जीडीपीको आकार र बैंकको संख्याको उदाहरण दिँदै नेपालमा बैंक धेरै भएको बताए । बैंक ठूलो भए डिपोजिटको पैसा सुरक्षित हुने उनको भनाइ थियो ।
अध्यक्ष पाँडे अब प्रविधिमा लगानी बढाउन आवश्यक रहेको धारणा राखे । अब नयाँ क्षेत्रमा लगानी गर्नुको बिकल्प नरहेको उनी बताउँछन् ।
मर्जसँगै नेपाल इन्भेष्टमेन्ट मेगा बैंक मर्चेन्ट बैकिङमा पहिलो हुने बताए । नेपाल इन्भेष्टमेन्ट र मेगा बैंकको एकीकृत कारोबार शुरु भएसँगै बैंकको चुक्ता पुँजी ३४ अर्ब १२ करोड हुने छ । दुवै बैंक मर्ज भएपछि नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नामबाट बुधबार कारोबार शुरु भएको भएको हो । एकीकृत बैंकका अध्यक्षमा पृथ्वीबहादुर पाँडे सर्वसम्मत चुनिएका छन् । बुधबार बिहान बसेको सन्चालक समितिको बैठकले अध्यक्षमा चयन गरेको हो ।



About Us
प्रतिक्रिया