काठमाडौं – सजिलो पे र पेवेल नेपाल नामक डिजिटल वालेटले प्रयोग गरेर झन्डै १८ अर्ब अवैध रकमलाई वैध बनाइएको पाइएको छ । नेपाल राष्ट्र बैंकले आन्तरिक रेमिन्ट्यान्स बन्द गर्न निर्देशिका जारी गरेपनि यी दुई वालेटले बैंक खातामा अवैध रकम जम्मा गरी वैध बनाएका हुन् । विभिन्न जिल्लाका २१ जना व्यक्तिहरूले विभिन्न मनी ट्रान्सफर कम्पनीहरूसँग मिलेर हुण्डीको अवैध रकम वैध बनाएका हुन् ।
सजिलो पे र पेवेल नेपालले १८ वटा मनी ट्रान्सफर कम्पनीहरूसँग मिलेर अवैध कार्य गरेको केन्द्रीय अनुसन्धान ब्युरोले जनाएको छ । आन्तरिक विप्रेषण बन्द भएको अवस्थामा विदेशबाट विप्रेषण बापत प्राप्त हुने रकम आप्रवाहमा अवरोध गरी आन्तरिक विप्रेषणको नाममा भन्सार छली, चोरी, पैठारी, सुनको अवैध कारोबार, कर छली लगायतमा उनीहरूको संलग्नता रहेको समेत खुलेकाे छ ।
उनीहरूले १७ अर्ब ८३ करोड ७० लाख रुपैयाँ बराबर रकम कारोबार गरेको ब्युरोले बताएको हो । यस्तै, तीन वटा मनी ट्रान्सफर कम्पनीमा आफन्तहरू मिलेर अवैध कार्य गरेको समेत खुलेको छ । यस कारोबारमा सप्तरीका पाँच जना, मोरङका दुई जना, महोत्तरीका एक जना, धनुषाका पाँच जना, नवलपरासी ३ जना, पर्साका २ जना, सर्लाहीका एक जना, विरगंञ्जका एक जना र चितवनका एक जनाको संलग्नता पुष्टि भएको छ ।
मोरङका विरेन्द्र प्रसाद शाह र दिपेन्द्र प्रसाद शाह बाबु छोरा हुन् । उनीहरूले डीएस ट्रेडर्स तथा कथित रेमिन्ट्यान्स कम्पनीको माध्यमबाट २ अर्ब ८२ करोड १९ लाख अवैध रकम कारोबार गरेको खुल्न आएको छ । सप्तरीका राम विलास शाह तेली र ममता कुमारी शाह श्रीमान श्रीमती हुन् । उनीहरूले शिवम् इन्टरप्राइजेज कम्पनीको माध्यमबाट ९९ करोड २८ लाख रूपैयाँ अवैध रकम कारोबार गरेको खुल्न आएको छ ।
धनुषाका अलिता देवी महतो र प्रकाश सिंह आमा छोरा हुन् । उनीहरूले अलिता मनी टान्सफर कम्पनीमार्फत ९६ करोड ७५ लाख अवैध रकम कारोबार गरेको खुल्न आएको छ । महोत्तरीका श्रवन कुमार शाहले दिप ज्योति ट्रेड्स कम्पनीबाट १ अर्ब ५१ करोड २० लाख अवैध रकम कारोबार गरेको खुल्न आएको छ । यस्तै, सप्तरीका तारालाल यादवले रिया ट्रेर्डस कम्पनीको माध्यमबाट १ अर्ब ३९ करोड ५५ लाख, शुसिला कुमारी शाहुले राधिका ट्रेर्डस कम्पनीको माध्यमबाट ५७ करोड ४४ लाख, शम्भु मेहताले सगरमाथा रेमिन्ट्यान्स कम्पनीको माध्यमबाट ५७ करोड ३२ लाख अवैध रकम कारोबार गरेको खुल्न आएको छ।
धनुषाका निरज कुमार महतोले न्यू सन्ध्या एन्टरप्रोइजेज कम्पनीका माध्यमबाट ८४ करोड ७ लाख, अरुण कुमार साहले श्री एजल इन्टरप्राइजेज कम्पनीका माध्यमबाट ८३ करोड ८५ लाख, संजिव कुमार महतोले जय माँ जानकी मनी ट्रान्सफर कम्पनीको माध्यमबाट ६४ करोड ३ लाख अवैध रकम कारोबार गरेको खुल्न आएको छ ।
नवलपरासीका रमज कमल लानियाले पुजा सप्लायर्स कम्पनीमार्फत ९७ करोड ५९ लाख, भिम कुमारी गुरुङले तार्शी ट्राभल्स एन्ड टूर्स कम्पनीबाट ७९ करोड ७१ लाख, गणपति पाण्डेले गेल्डेन स्काइ टूर एन्ड ट्राभल्स कम्पनीेको माध्यमबाट ९१ करोड १२ लाख अवैध रकम कारोबार गरेको खुल्न आएको छ । पर्साका प्रदिप कुमार शाहले आर एन्ड हार सब रेमिट प्राइभेट लिमिटेड कम्पनीको माध्यमबाट १ अर्ब १ करोड १५ लाख, बिकर्ण जंग राणाले सस्विका मनी ट्रान्सफरबाट ६८ करोड ६४ लाख अवैध रकम कारोबार गरेको खुल्न आएको छ ।
सर्लाहीका हरेराम महतोले आनन्द ट्रेडर्सबाट १ अर्ब २ करोड ६३ लाख, विरगंञ्जका सलमा खतुनाले खुसी मनी टान्सफरमार्फत ७५ करोड ५५ लाख र चितवनका गोविन्द प्रसाद आर्चायले हिमालयन मनी ट्रान्सफर कम्पनीबाट ५१ करोड ४९ लाख अवैध रकम कारोबार गरेका छन् ।
उनीहरूले उक्त अवैध रकमलाई वैध बनाउनका लागि सजिलो पे र पेवेल नेपाल वालेटका माध्यमबाट परिचालन गरेका थिए । विदेशी मुलुकमा रहेका विद्यार्थी र कामदारहरूका नेपालमा रहेका आफन्तको खातामा ट्रान्सफर गरेको फेला परेको ब्युरोले जनाएको छ। यस कार्यमा संलग्न रहेका सञ्चालकहरूलाई नेपाल राष्ट्र बैंक ऐन २०५८ बमोजिम अनुसन्धान गरिरहेको ब्युरोले जनाएको छ।






About Us
प्रतिक्रिया