हालसम्म ८ वाणिज्य बैंकहरुले गरे लाभांश घोषणा, बैंक अफ काठमाण्डूले सबैभन्दा बढी लाभांश दिने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
हालसम्ममा गत आवको सञ्चित मुनाफाबाट आठ ओटा वाणिज्य बैंकले लाभांश वितरण गर्ने घोषणा गरेका छन् ।

हालसम्म ग्लोबल आइएमई बैंक, कुमारी बैंक, नेपाल क्रेटिड एण्ड कमर्श (एनसीसी बैंक), बैंक अफ काठमाण्डू, एभरेष्ट बैंक, स्ट्याण्डर्ड चार्टड बैंक, सानिमा बैंक र सिटिजन्स बैंक इन्टरनेशलले लाभांश वितरण गर्ने घोषणा गरेका हुन् । जसमध्ये दुई बैंकले लाभांश वितरण गर्ने प्रस्ताव साधारण सभाबाट पारित समेत गरिसकेका छन् ।

लाभांश वितरण गर्ने प्रस्ताव साधारण सभाबाट पारित गर्नेमा सिटिजन्स बैंक र कुमारी बैंक रहेका छन् । सिटिजन्स बैंकले यहि कात्तिक ४ गते र कुमारी बैंकले कात्तिक २० गते साधारण सभा सम्पन्न गरेका हुन । 

कुमारी बैंकले गत आवको मुनाफाबाट शेयरधनीलाई १२ दशमलव ५० प्रतिशत नगद लाभांश र सिटिजन्स बैंकले ९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेका छन् । 

एनसीसी बैंकले लाभांश पारितका लागि मंसिर २ गते साधारण सभा बोलाएको छ । सभाले प्रस्तावित ३ दशमलव ३६ प्रतिशत बोनस शेयर र ७ दशमलव ६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।  

लाभांश घोषणा गरेका आठ ओटा कम्पनीमध्ये सबैभन्दा बढी लाभांश बैंक अफ काठमाण्डूको रहेको छ । उक्त कम्पनीले शेयरधनीलाई गत आवको सञ्चित मुनाफाबाट शेयरधनीलाई कुल २० दशमलव ९५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले ६ प्रतिशत बोनस शेयर र १४ दशमलव ९५ नगद लाभांश गरेर कुल २० दशमलव ९५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

गत वर्ष भने कम्पनीले १० प्रतिशत बोनस शेयर र ४ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । यसरी हेर्दा कम्पनीको लाभांश दर बढेको छ भने यस वर्ष कम्पनीले बोनस शेयरमा भन्दा नगद लाभांशमा जोड दिएको छ ।

त्यसैगरी दोस्रोमा एभरेष्ट बैंकले १३ प्रतिशत बोनस शेयर र ७ दशमलव ६८ प्रतिशत नगद लाभांश गरेर कुल २० दशमलव ६८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । यसरी लाभांश विवरण हेर्दा अधिकांश कम्पनीहरुले बोनस शेयरलाई भन्दा नगद लाभांशमा जोड दिएका छन् ।

कम्पनीहरुको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृती पाएपछि र आगामी साधारण सभाबाट पारित भएपछि शेयधनीले पाउने छन् ।