बैंकिङ्ग समाचार, काठमाडौं ।
धौलागिरी लघुवित्त वित्तीय संस्थाको आईपीओ बिहीवार नेप्सेमा सूचीकृत भएको छ । कम्पनीको १० लाख ३१ हजार कित्ता साधारण शेयर सूचीकृत भएको हो । यो शेयर आइतवारदेखि धितोपत्रको दोस्रो बजारमा कारोबारमा आउनेछ ।
यो शेयरको पहिलो कारोबारको लागि नेप्सेले रू. १४८ दशमलव ६६ देखि ४४५ दशमलव ९८ ओपन रेञ्ज तोकेको छ । नेप्सेले पहिलो कारोबारको लागि कम्पनीको वास्तविक नेटवर्थको तीन गुणासम्म मूल्य रेञ्ज तोक्ने गर्दछ । कम्पनीले सर्वसाधारणको लागि निष्कासन गरेको ३ लाख ३१ हजार कित्ता र संस्थापकहरूले लगानी गरेको ७ लाख कित्ता गरेर कुल १० लाख ३१ हजार कित्ता साधारण शेयर सूचीकृत गराएको छ ।
सूचीकृत पश्चात दिनुपर्ने आरटीएस सेवा सनराइज क्यापिटल कमलपोखरीबाट हुने कम्पनीले नेप्सेमार्फत जानकारी दिएको छ ।
कम्पनीको शेयरलाई नेप्सेले DLBS कारोबार संकेत प्रदान गरेको छ । सोहि कारोबार संकेतमा कम्पनीको शेयर कारोबार हुनेछ ।
प्रतिक्रिया