खप्तड लघुवित्तको आईपीओ भोली बाँडफाँट हुने, १८ लाख ३७ हजार बढिको हात खाली हुने

खप्तड लघुवित्तको आईपीओ भोली बाँडफाँट हुने, १८ लाख ३७ हजार बढिको हात खाली हुने


बैंकिङ्ग समाचार, काठमाडौं ।
खप्तड लघुवित्त वित्तीय संस्थाको आईपीओ भोलि सोमवार अर्थात भदौ २० गते बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार आईपीओको प्रि अलोटमेन्ट बिहीबार सम्पन्न गरी सोमबार आफ्नै कार्यालय कमलादीमा भाेली सोमबार बिहान १० बजे आइपीओ बाँडफाँट गर्ने जानकारी गराएको हो ।

कम्पनीले भदौ ८ गतेबाट १२ गतेसम्म १ करोड ३२ लाख रुपैयाँ बराबरको कुल १ लाख ३२ हजार कित्ता आईपीओ निष्कासन गरेको थियो । जसमध्ये ६ हजार ६०० कित्ता सामूहिक लगानी कोष र २ हजार कित्ता शेयर कर्मचारीहरुका लागि छुट्याइएको थियो ।

सीडीएस एन्ड क्लियरिङको तथ्यांक अनुसार  भदौ १२ गतेसम्ममा १८ लाख ५० हजार १३२ जना आवेदकले २ करोड ४ लाख २२ हजार ४०० कित्ताका लागि आवेदन दिएका थिए । लघुवित्तको आईपीओमा माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार गोलाप्रथाका माध्यमबाट न्युनतम १० कित्ताको दरले शेयर वितरण हुनेछ । त्यस अनुसार १२ हजार ३४० जना आवेदकले मात्रै शेयर पाउनेछन् । बाँकी १८ लाख ३७ हजार बढि आवेदकको हात खाली हुनेछ ।

हाल लघुवित्तको चुक्ता पूँजी २ करोड ६८ लाख रुपैयाँ छ । आईपीओ बाँडफाँट पश्चात लघुवित्तको चुक्ता पूँजी ४ करोड रुपैयाँ पुग्नेछ ।