श्रृजनशील लघुवित्तको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

श्रृजनशील लघुवित्तको आईपीओमा आवेदन दिने आज अन्तिम दिन


बैंकिङ्ग समाचार, काठमाडौं ।
श्रृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओमा आवेदन दिने आज (भदौ १९ गते) अन्तिम दिन रहेको छ । कम्पनीले भदौ १५ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको थियो । लघुवित्तले जारी पूँजी १० करोड ९३ लाख ७५ हजार रुपैयाँको ३६ प्रतिशतले हुन आउने ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ३ लाख ९३ हजार ७५० कित्ता शेयर निष्काशनमा ल्याएको हो । 

सर्वसाधारणमा जारी हुने कुल कित्ता आईपीओमध्ये जारी पूँजीको शून्य दशमलव ५ प्रतिशत अर्थात ५ हजार ४७० कित्ता कर्मचारीहरुका लागि र सर्वसाधारणमा जारी कुल कित्ता आईपीओको ५ प्रतिशत अर्थात १९ हजार ६९० कित्ता शेयर सामूहिक लगानी कोषहरूका लागि सुरक्षित गरिएको छ । यी वाहेक बाँकी ३ लाख ६८ हजार ५९० कित्ता आईपीओ भने सार्वजनिक निष्कासनमा आएको हो । 

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्ने व्यवस्था छ । आईपीओ निष्काशन तथा बिक्री प्रवन्धकमा सनराइज क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै आवेदकले सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तीनका सम्पूर्ण शाखा कार्यालयहरूसँगै मेरो शेयर वेबसाइट तथा एप मार्फत पनि आवेदन दिन सक्नेछन् । 

आईपीओ निष्काशनका लागि गराएको क्रेडिट रेटिङ्गमा एजेन्सी केयर रेटिङ्गस नेपालले कम्पनीलाई समयमै वित्तीय दायित्व पुरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिमको संकेत गर्ने केयरएनपी डबल बी माइनस इन्युअर रेटिङ्ग प्रदान गरेको छ । 

हाल कम्पनीको चुक्तापूँजी ७ करोड रुपैयाँ रहेको छ । आईपीओ बाँडफाँट पश्चात कम्पनीको चुक्तापूँजी १० करोड ९३ लाख ७५ हजार रुपैयाँ कायम हुनेछ ।