हिमालयन बैंकले १०.५०% ब्याजदरको २५ लाख कित्ता ऋणपत्र भदौ १५ गते जारी गर्दै


बैंकिङ्ग समाचार, काठमाडौं ।
हिमालयन बैंक लिमिटेडले वार्षिक १० दशमलव ५० प्रतिशत ब्याजदरको ऋणपत्र भदौ १५ गतेदेखि विक्री गर्ने भएको छ । बैंकले ‘हिमालयन बैंक लिमिटेड बण्ड २०८६’ नामको सात वर्षे अवधिको ऋणपत्र निष्कासन गर्न लागेको हो । बैंकले प्रतिकित्ता रू. १ हजार अंकित मूल्यका रू. २ अर्ब ५० करोड बराबरको २५ लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो ।

कुल कित्ता ऋणपत्रमध्ये ४० प्रतिशत अर्थात रू. १ अर्ब बराबरको १० लाख कित्ता सर्वसाधारणलाई बिक्री गरिनेछ भने बाँकी ६० प्रतिशत अर्थात रू. १ अर्ब ५० करोड बराबरको १५ लाख हजार कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिने बैंकले जनाएको छ । सर्वसाधारणलाई निष्काशन गरिने ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात ५० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको छ ।

यो ऋणपत्र छिटोमा भदौ १९ गतेसम्म विक्रीमा रहनेछ भने सो अवधिसम्म माग बमोजिम आवेदन नपरेमा भने भदौ २९ गतेसम्म विक्री अवधि लम्बिनेछ । लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम २ लाख ५० हजार कित्ताका लागि आवेदन दिन सक्ने व्यवस्था छ । 

बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै लगानीकर्ताले सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका सम्पूर्ण शाखा कार्यालयहरुबाट ऋणपत्र खरिदका लागि आवेदन दिन सक्नेछन् ।

ऋणपत्र निष्काशनका लागि गराएको क्रेडिट रेटिङ्गमा केयर रेटिङ्ग नेपालले बैंकलाई मध्यम कर्जा जोखिमको संकेत गर्ने ‘केयरएनपी सिङ्गल ए माइनस इस्यूअर’ रेटिङ्ग प्रदान गरेको छ । उक्त रेटिङ्गले वित्तीय दायित्व समयमानै पूरा गर्न सक्ने तथा कर्जा जोखिम न्यून भएको कम्पनीको संकेत समेत गर्दछ ।