काठमाडौंमा बुधबारबाट अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला सुरू


बैंकिङ्ग समाचार, काठमाडौं ।
बुधबारदेखि काठमाडौंमा महिला उद्यमी तथा व्यापारीहरूद्वारा उत्पादित वस्तुहरूको अन्तर्राष्ट्रिय व्यापार मेला सुरू भएको छ । छैठौं संस्करणका रूपमा सुरू भएको यो मेला भदौ ६ गतेसम्म ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा हुनेछ ।

मेलामा देशभरका महिला उद्यमी, व्यापारी, निर्यातकर्ता र अन्तर्राष्ट्रिय महिला उद्यमीको पनि सहभागिता छ । नेपालमा उत्पादित वस्तु तथा हस्तकलाको आन्तरिक बजार विकास, निर्यात तथा व्यापार प्रवर्द्धन गर्न मेला आयोजना गरिएको हो ।

मेलामा हस्तकलाका सामानहरु जस्तैः प्राकृतिक रेशाजन्य वस्तु, ढाका तथा घरबुनाका सामानहरु, हाते कागजका वस्तुहरु, जैविक खाद्य पदार्थ, स्वदेश तथा विदेशका खानेकुराका परिकारहरु, कृषिजन्य उत्पादन, पुष्प सामग्री, जडिबुटी, गरगहना, सजावटका सामानका साथै विभिन्न सेवा प्रदायक संस्थाहरुका स्टलहरु प्रदर्शनीमा राखिएका छन् ।

मेलाको प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेका हुन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले स्वदेशी कच्चा पदार्थमा आधारित उद्योग व्यवसायलाई बिस्तार गरी आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धन गर्न उद्योगी, व्यवसायीहरुसँग आग्रह गरेका छन् । व्यापार मेलाको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले स्वदेशी कच्चा पदार्थमा आधारित उद्योग व्यवसायलाई बिस्तार गरी आयात प्रतिस्थापन तथा निर्यात प्रवर्द्धन गर्न आग्रह गरेका हुन् ।

उनले महिला उद्यमशीलता प्रवर्द्धन क्षेत्रलाई थप प्रभावकारी बनाइ रचनात्मक भूमिका निर्वाह गर्न जरूरी रहेको बताए । प्रधानमन्त्री देउवाले यस्ता मेलाहरुले व्यवसायिक सञ्जाललाई बिस्तार गर्नुका साथै व्यवसायी र उपभोक्तासँगको सम्बन्ध र समन्वयलाई प्रभावकारी बनाउने विश्वास व्यक्त गरे । 

स्वदेशमै उपलब्ध कच्चा पदार्थ, श्रोत साधनलाई अधिकतम प्रयोग गरी स्वदेशमा उत्पादित सामग्री निर्यात गर्ने र विदेशी मुद्राको आर्जन, रोजगारी बिस्तार गर्नमा ध्यान दिनुपर्ने उनको भनाइ छ । प्रधानमन्त्री देउवाले नेपालको अर्थतन्त्रमा निजी क्षेत्रका योगदान महत्वपूर्ण रहेको भन्दै निजी क्षेत्रले नै नेपालको कुल गार्हस्थ्य उत्पादन, रोजगारीको सिर्जना बढाएको दाबी गरे । 

उनले अर्थतन्त्रका समस्या र चुनौतीको सामना गर्दै अत्यावश्यक वस्तु तथा सेवाको आपूर्ति प्रणालीलाई सुचारु राख्न सरकार र निजी क्षेत्रले उचित समन्वय र सहकार्य गरेर अघि बढ्नुपर्ने खाँचो रहेको बताए ।

उनले व्यापार मेलाहरुमा स्वदेशी कच्चा पदार्थ र नेपाली मौलिक सीपबाट उत्पादित स्वदेशी वस्तुहरुलाई प्राथमिकतामा राखि समावेश गरेर वस्तुहरुको प्रचारप्रसार तथा लगानी बिस्तार गर्न आवश्यक रहेको बताए । उनले यस्ता मेलाले दिगो विकासको लक्ष्यमा मद्दत पुग्ने बताए । उनले स्वदेशी उत्पादनलाई बढोत्तरी गर्न र निर्यात बढाउन सरकार आवश्यक सहयोग गर्न तयार रहेको बताए ।

मेलामा सातै प्रदेशका जिल्लाहरु, राष्ट्रिय तथा अन्तराष्ट्रिय महिला उद्यमीहरुका उत्पादनहरुको स्टलहरु रहनेछन । अन्तराष्ट्रिय महिला उद्यमीहरुको व्यापार मेलामा उद्यमी महिलाहरूको सिप र सृजनालाई अगाडी ल्याएर राष्ट्रिय तथा अन्तराष्ट्रिय बजारमा आफनो दिगो पहिचान बनाउन सघाउ पुयाउनुका साथै उनीहरुलाई अगाडी बढ्न प्रोत्साहित गर्ने विश्वास पनि महिला उद्यमी महासंघ नेपालले जनाएको छ ।

मेलामा १०९ वटा स्टल रहेका छन् । ५ दिनसम्म सञ्चालन हुने मेलामा ७५ हजार जनाले अवलोकन गर्नुका साथै २ करोड बराबरको कारोबार हुने अनुमान आयोजकले गरेको छ ।

हेर्नुहोस् तस्बिरहरू:

\"\"\"\"\"\"\"\"\"\"