एभरेष्ट बैंकको १०.५०% ब्याजदरको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

एभरेष्ट बैंकको १०.५०% ब्याजदरको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन


बैंकिङ्ग समाचार, काठमाडौं ।
एभरेष्ट बैंक लिमिटेडले वार्षिक निष्काशन तथा बिक्री खुला गरेको वार्षिक १०.५० प्रतिशत ब्याजदर पाइने ऋणपत्रमा आवेदन दिने आज (भदौ १ गते) अन्तिम दिन रहेको छ । बैंकले साउन १८ गतेदेखि ‘एभरेष्ट बैंक लिमिटेड ऋणपत्र २०८५’ निष्काशन तथा बिक्री खुला गरेको थियो । सो ऋणपत्रको अवधि ६ वर्ष रहनेछ ।

बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यका २ अर्ब रुपैयाँ बराबरको २० लाख कित्ता ऋणपत्र निष्काशन गरेको हो । सोमध्ये ४० प्रतिशत अर्थात २० करोड रुपैयाँ बराबरको ८० लाख कित्ता सर्वसाधारणलाई बिक्री गरिएको हो भने बाँकी ६० प्रतिशत अर्थात १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता व्यक्तिगत तवरबाट बाँडफाँट गरिने बैंकले जनाएको छ । सर्वसाधारणलाई निष्काशन गरिएको ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात ४० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको छ ।

सो ऋणपत्र खरिदका लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ । लगानीकर्ताले सी आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट सो ऋणपत्र खरिदका लागि आवेदन दिन सक्नेछन् ।

ऋणपत्र निष्काशनका लागि गराएको क्रेडिट रेटिङ्गमा केयर रेटिङ्ग नेपालले बैंकलाई केयर एनपी डबल ए माइनस रेटिङ्ग प्रदान गरेको छ । यसले वित्तीय दायित्व समयमा नै पूरा गर्न सक्ने सम्बन्धमा पर्याप्त मात्रामा सुरक्षित रहेको संकेत गर्दछ ।