साना किसान लघुवित्तको नाफा साढे १७% ले बढ्यो, ईपीएस कति ?

साना किसान लघुवित्तको नाफा साढे १७% ले बढ्यो, ईपीएस कति ?


बैंकिङ्ग समाचार, काठमाडौं ।
साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । विवरण अनुसार गत आर्थिक वर्षको असार मसान्तसम्ममा लघुवित्तले ७० करोड ८३ लाख २९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १७.४५ प्रतिशत बढी हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ६० करोड ३१ लाख ११ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै लघुवित्तको खुद नाफा बढ्न पुगेको हो ।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ११.०१ प्रतिशत बढेको छ भने अन्य सञ्चालन आम्दानी १०.६६ प्रतिशत बढेको छ । लघुवित्तको सञ्चालन मुनाफा समीक्षा अवधिमा १६.३९ प्रतिशत बढेको छ ।

खुद नाफा बढेपनि लघुवित्तको प्रतिशेयर आम्दानी अर्थात ईपीएस भने घटेको छ । समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी २ रुपैयाँ ९१ पैसा घटेर ४५ रुपैयाँ २८ पैसामा झरेको छ । असार मसान्तसम्ममा लघुवित्तको प्रतिशेयर नेटवर्थ २६६ रुपैयाँ ८ पैसा रहेको छ ।

१ अर्ब ५६ करोड ४४ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा २ अर्ब ५९ करोड ८१ लाख रुपैयाँ सञ्चित छ । समीक्षा अवधिमा लघुवित्तको सापटी २४.५३ प्रतिशत र कर्जा २२.७३ प्रतिशत बढेको छ ।