टियूका विद्यार्थीहरुले नेपाल बैंकमा इन्टर्नशिप गर्न पाउने

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल बैंक लिमिटेड र त्रिभुवन विश्वविद्यालय व्यवस्थापन केन्द्रीय बिभाग बीच अनुसन्धान सम्बन्धि कार्यमा सहकार्य गर्ने सम्बन्धमा सम्झौता भएको छ । उक्त सम्झौता अनुसार त्रिभुवन विश्वविद्यालय व्यवस्थापन केन्द्रीय विभागमा अध्ययनरत बिद्यार्थीहरुले नेपाल बैंकमा इन्टर्नशिप गर्न पाउनेछन् । 

सो विभागका बिद्यार्थीहरु र प्राध्यापकहरु मार्फत नेपाल बैंकले आर्थिक तथा बैंकिङ्ग क्षेत्रमा आफ्ना अनुसन्धानात्मक कार्यहरु संचालन गर्नेछ । बैंकको अनुसन्धान सम्बन्धी कार्यको लागि व्यवस्थापन विभागले विषय विज्ञको रूपमा प्राध्यापकहरूको सूची बैंकलाई उपलब्ध गराउने जनाएको छ । 

सो सूची अन्तर्गतका प्राध्यापकहरुलार्ई आवश्यकताअनुसार बैंकले अनुसन्धानको लागि विषय विज्ञका रूपमा नियुक्त गर्ने जनाएको छ । त्यसैगरी बैंकले गरेका अनुसन्धान सम्बन्धी कार्यमा व्यवस्थापन विभागमा सञ्चालित शैक्षिक कार्यक्रमहरू एमबिए र एमबिएममा अध्ययनरत विद्यार्थीहरूलाई ग्राजुएसन रिसर्च प्रोजेक्ट(जिआरपी) अन्तर्गत शोधपत्र लेखनका लागि छात्रवृत्तिस्वरूप न्यूनतम ५ जना विद्यार्थीहरूलाई बैंकले प्रति बिद्यार्थी नगद तीस हजार रुपैयाँ प्रदान गर्नेछ । 

बैंकले व्यवस्थापन विभागमा एमविए ईन कर्पोरेट लिडरसिपमा अध्ययन गरेका १ जना छात्र र १ जना छात्रा गरी दुई जना सर्वोत्कृष्ट विद्यार्थीहरूलाई प्रत्येक शैक्षिक सत्रमा  नगद र मेडल सहित “नेपाल बैंक कर्पोरेट लिडरसिप अर्वाड” समेत प्रदान गर्नेछ । 

मंगलबार नेपाल बैंकको प्रधान कार्यालयमा सम्पन्न सो सम्झौतापत्रमा त्रिभुवन विश्वविद्यालय केन्द्रीय व्यवस्थापन बिभागका निमित्त विभागीय प्रमुख सह–प्राध्यापक नवराज अधिकारी र नेपाल बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत होम बहादुर खड्काले हस्ताक्षर गरेका थिए । 

सो कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारीले त्रिवि व्यवस्थापन केन्द्रीय बिभाग संगको सहकार्यले नेपाल बैंकको अनुसन्धान सम्बन्धि कार्यमा ठूलो मद्दत पुग्ने विश्वास व्यक्त गरेका थिए । त्रिभुवन विश्वबिद्यालय व्यवस्थापन केन्द्रीय विभागका नि.विभागीय प्रमुख सह प्राध्यापक नवराज अधिकारीले नेपालको पहिलो बैंकसंग आफ्ना बिद्यार्थी र प्राध्यापकहरुले अनुसन्धानात्मक कार्यमा सहकार्य गर्नु गर्वको विषय रहेको धारणा व्यक्त गरे ।