बैंकिङ्ग समाचार, काठमाडौं ।
वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघले तत्काल ब्याजको दर नबढाउने निर्णय गरेको छ । राष्ट्र बैंकले बुधबार मौद्रिक नीति कार्यन्वयनको लागि सर्कुलर जारी गर्दै नीतिगत दर बढाएपनि संघले तत्काल ब्याजको दर नबढाउने निर्णय गरेको हो । शुक्रबार बिहान बसेको बैठकले ब्याज नबढाउने निर्णय गरेको हो ।
राष्ट्र बैंकले जारी गरेको निर्देशनमा राष्ट्र बैंकले तय गर्ने बैंक दर तथा नीतिगत दर परिवर्तन भएमा तत्काल ब्याजदर परिवर्तन गरी प्रकाशन गर्न सकिने ब्यबस्था गरेपनि संघले भने तत्काल ब्याज नबढाउने र पुर्ने ब्याजलाई निरन्तरता दिने निर्णय गरेको हो ।
संघका अध्यक्ष अनिल कुमार उपाध्यायले तत्कालका लागि ब्याज नबढाउने निर्णय गरेको बताए । उनले १० दिनका लागि अहिलेको ब्याजदर नै यथावत राख्ने र त्यसपछि बजारको अवस्था हेरेर निर्णय गर्ने बताए ।
उनले भने, ‘राष्ट्र बैंकले बुधबार मौद्रिक नीति कार्यन्वयनको लागि एकीकृत निर्देशन २०७८ मा संशोधन गर्दै नीतिगत दर र बैंकदर परिवर्तन भए बैंकहरुले निक्षेपको ब्याजदर परिर्वत गर्नसक्ने व्यवस्थालाई आधार मानेर व्याजदर परिवर्तन गर्न पाइन्छ ।’ निक्षेपको ब्याजदर बढाउनुपर्ने बाध्यता भएता पनि महिनाको बीचबाट ब्याजदर नबढाउने निर्णय भएको उनले बताए ।
राष्ट्र बैंकले संस्थागत प्रकृतिको मुद्धती निक्षेपको अधिकतम ब्याजदर व्यक्तिगत प्रकृतिको मुद्धती निक्षेपको अधिकतम ब्याजदर भन्दा दुई प्रतिशत बिन्दुले कम हुनुपर्ने व्यवस्था गरेको छ । कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत समेत रहेका उपाध्ययले भने, ‘अर्को महिनादेखि भने ब्याजदर बढाउदा वा घटाउँदा महिनाको अन्तिम वा शुरुबाट लागू गर्ने निर्णय भएको छ । ’



About Us
प्रतिक्रिया