चौथो त्रैमासमा एनसीसी बैंकको खुद नाफा ५२ प्रतिशत बढ्यो, अन्य अधिकांश सूचकमा पनि उल्लेख्य सुधार


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंक लिमिटेडले गत आर्थिक वर्ष २०७८/७९ को चौथो त्रैमाससम्म रू. २ अर्ब २ करोडभन्दा बढी खुद नाफा गरेको छ । अघिल्लो वर्षको सोही अवधिको तुलनामा बैंकको खुद नाफा ५१.८७ प्रतिशतले बढेको हो । अघिल्लो वर्षको सोही अवधिसम्म बैंकले रू. १ अर्ब ३३ करोडभन्दा बढी खुद नाफा गरेको थियो ।

गत वर्ष बैंकको सञ्चालन नाफा ३९ दशमलव १७ प्रतिशत बढी भएको छ । अघिल्लो वर्ष रू. १ अर्ब ९२ करोडभन्दा बढी सञ्चालन नाफा गरेको बैंकले गत वर्ष रू. २ अर्ब ६७ करोडभन्दा बढी सञ्चालन नाफा गरेको हो । गत वर्षको चौंथो त्रैमाससम्म बैंकको वितरणयोग्य नाफा भने रू. १ अर्ब ४७ करोडभन्दा बढी छ ।

८ प्रतिशत बोनस शेयर वितरण गरी चुक्तापूँजी रू. ११ अर्ब १३ करोड ९६ लाख ७८ हजार पुर्‍याएको बैंकको रिटेन्ड अर्निग ६९ दशमलव ६८ प्रतिशत बढी रू. १ अर्ब ४७ करोड ४२ लाख कायम भएको छ । जगेडा कोष रकम भने अघिल्लो वर्षको तुलनामा ११ दशमलव २३ प्रतिशत बढेर रू. ३ अर्ब ८४ करोड ९६ लाख पुगेको छ ।

खुद नाफासँगै बैंकको प्रतिसेयर आम्दानी पनि बढेको छ । अघिल्लो वर्ष १२.३२ रुपैयाँ रहेको बैंकको प्रतिसेयर आम्दानी आर्थिक वर्ष २०७८/७९ मा बढेर १८.१५ रुपैयाँ पुगेको छ । यो अवधिमा बैंकको खुद व्याज आम्दानी ३२ प्रतिशतले बढेर ४ अर्ब १५ करोड रुपैयाँ पुगेको छ । त्यस्तै, सञ्चालन नाफा ३९ प्रतिशतले बढेर २ अर्ब ६७ करोड रुपैयाँ पुगेको छ ।

गत वर्ष बैंकले २६ दशमलव १६ प्रतिशत बढी रू. १ खर्ब ३४ अर्ब ५७ करोड निक्षेप संकलन गरेको छ भने २८ दशमलव १३ प्रतिशत बढी रू. १ खर्ब २१ अर्ब १९ करोड कर्जा प्रवाह गरेको छ । अघिल्लो वर्ष १ दशमलव ७६ प्रतिशत रहेको निष्क्रिय कर्जा गत वर्ष १ दशमलव ९३ प्रतिशत पुगेको छ ।

समीक्षा अवधिमा बैंकको निष्कृय कर्जा (एनपीएल) १.७६ प्रतिशतबाट बढेर १.९३ प्रतिशत पुगेको छ । त्यस्तै, सीडी रेसियो पनि ७८.१४ प्रतिशतबाट ८६.५८ प्रतिशत पुगेको विवरणमा उल्लेख छ । प्रतिसेयर नेटवर्थ १४७.७९ रुपैयाँ र मूल्य आम्दानी अनुपात २४.९६ प्रतिशत पुगेको छ ।