बैंकिङ्ग समाचार, काठमाडौं ।
सानिमा बैंकको चौथो त्रैमाससम्मको नाफामा सामान्य गिरावट आएको छ । असार मसान्तसम्म सानिमा बैंकको नाफा साढे १ दशमलव शून्य ७ प्रतिशतले घटेको छ । अघिल्लो आर्थिक वर्ष (आव) २०७७/७८ को तुलनामा कम्पनीको नाफा १ दशमलव शून्य ७ प्रतिशतले घटेर २ अर्ब २९ करोडमा झरेको छ । अघिल्लो आवको असार मसान्तसम्म कम्पनीले रू. २ अर्ब ३१ करोड नाफा कमाएको थियो ।
असार मसान्तसम्ममा बैंकको खुद ब्याज आम्दानी ५.३५ प्रतिशत बढेर ४ अर्ब ७६ करोड रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले ४ अर्ब ५२ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । सोही अवधिमा बैंकको सञ्चालन मुनाफा १.७६ प्रतिशत घटेर ३ अर्ब २५ करोड रुपैयाँ, खुद फि तथा कमिसन आम्दानी ३.६३ प्रतिशत बढेर ८४ करोड ३७ लाख रुपैयाँ, कुल सञ्चालन आम्दानी ५.५७ प्रतिशत बढेर ६ अर्ब १४ करोड रुपैयाँ र वितरणयोग्य नाफा १३.०१ प्रतिशत घटेर १ अर्ब ४६ करोड रुपैयाँ रहेको छ । बैंकको निक्षेप २२.६५ प्रतिशत बढेर १ खर्ब ५७ अर्ब ५१ करोड ८५ लाख ३५ हजार रुपैयाँ र कर्जा १५.१९ प्रतिशत बढेर १ खर्ब ३७ अर्ब १६ करोड १३ लाख ७१ हजार रुपैयाँ पुगेको छ ।
त्यसैगरी गत आवको असार मसान्तसम्म कम्पनीको चुक्तापूँजी १७ प्रतिशत बढेर रू.११ अर्ब ३२ करोड रहेको छ भने जगेडा कोषमा रू. ४ अर्ब ३० करोड सञ्चित रहेको छ । अघिल्लो आवको असार मसान्तसम्म उक्त कोषमा रू. ३ अर्ब ५० करोड थियो । एक वर्षको अन्तरालमा जगेडा कोषको रकम २२ दशमलव ९२ प्रतिशतले बढेको छ । गत आवको सोही अवधिमा बैंकको खराव कर्जा शून्य दशमलव ३५ प्रतिशत रहेको छ । अघिल्लो आवमा बैकको खराब कर्जा शून्य दशमलव १२ प्रतिशत थियो ।
असार मसान्तसम्ममा बैंकको प्रतिसेयर आम्दानी ३ रुपैयाँ ७० पैसा घटेर २० रुपैयाँ २४ पैसामा सिमित भएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकको प्रतिसेयर आम्दानी २३.९४ रुपैयाँ रहेको थियो । बैंकको मूल्य आम्दानी अनुपात १३.६३ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १५१ रुपैयाँ १ पैसा रहेको छ ।



About Us
प्रतिक्रिया