सनराइज बैंकको नाफा करीब ४९ प्रतिशत बढ्यो, वितरणयोग्य नाफा घटेपनि ईपीएस २१.२६ रुपैयाँ पुग्यो


बैंकिङ्ग समाचार, काठमाडौं ।
सनराइज बैंकले गत आर्थिक वर्ष (आव) २०७८/७९ को अन्त्यसम्ममा ४८ दशमलव ६९ प्रतिशतले खुद नाफामा वृद्धि गरेको छ ।

कम्पनीले अघिल्लो आवको असार मसान्तसम्म १ अर्ब ४४ करोड रुपैयाँ खुद नाफा आर्जन गरेकोमा गत आवको सोही अवधिमा २ अर्ब १५ करोड नाफा आर्जन गरेको हो । कम्पनीले सार्वजनिक गरेको गत आवको असार मसान्तसम्मको अपरिस्कृत वित्तीय विवरणअनुसार कम्पनीको खुद ब्याज आम्दानी, सञ्चालन आम्दानी तथा सञ्चालन मुनाफामा पनि वृद्धि भएको छ ।

गत आवको असार मसान्तसम्म बैंकको वितरणयोग्य नाफा २५ करोड ६१ लाख रुपैयाँ छ । सो अवधिमा कम्पनीको चुक्तापूँजी १० अर्ब ११ करोड रुपैयाँ कायम भएको छ । सो अवधिमा कम्पनीले १ खर्ब ३१ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब २० अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ । कम्पनीले ४ अर्ब ५८ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । जुन अघिल्लो आवको तुलनामा करीब ३० प्रतिशत बढी हो । 

गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकको प्रतिसेयर आम्दानी ६ रुपैयाँ १ पैसा बढेर २१ रुपैयाँ २६ पैसा पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकको प्रतिसेयर आम्दानी १५.२५ रुपैयाँ रहेको थियो । त्यस्तै सो अवधिसम्म बैंकको प्रतिशेयर नेटवर्थ १६५ रुपैयाँ २९ पैसा, तरलता अनुपात २५ दशमलव १३ प्रतिशत रहेको छ । बैंकको खराब कर्जा १ दशमलव ४० प्रतिशत रहेको छ ।