बैंकिङ्ग समाचार, काठमाडौं ।
निफ्राले गत आर्थिक वर्ष २०७८/७९ को चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को नाफा साढे २२ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्ष (आव) २०७७/०७८ को तुलनामा कम्पनीको नाफा २२ दशमलव ५३ प्रतिशतले वृद्धि भई रू. १ अर्ब २ करोड ६१ लाख रुपैयाँ पुगेको हो । अघिल्लो आवको असार मसान्तसम्म कम्पनीले रू.८३ करोड ७४ लाख नाफा कमाएको थियो ।
कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा वृद्धि भएकाले नाफा बढेको हो । खुद ब्याज आम्दानी अघिल्लो आवको तुलनामा ४१ दशमलव २० प्रतिशत र सञ्चालन नाफा २३ दशमलव १४ प्रतिशत वृद्धि भएको छ । असार मसान्तसम्म खुद ब्याज आम्दानी १ अर्ब ८८ करोड पुगेको छ भने संचालन नाफा १ अर्ब ४६ करोड पुगेको छ । असार मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा ८० करोड ८५ लाख रुपैयाँ रहेको छ ।
त्यसैगरी गत आवको असार मसान्तसम्म कम्पनीको चुक्तापूँजी रू.२१ अर्ब ६० करोड रहेको छ भने जगेडा कोषमा रू.१ अर्ब ७३ करोड सञ्चित रहेको छ । अघिल्लो आवको असार मसान्तसम्म उक्त कोषमा २ अर्ब ४० करोड थियो । एक वर्षको अन्तरालमा जगेडा कोषको रकम साढे २७ प्रतिशतभन्दा बढी घटेको छ ।
नाफासँगै बैंकको प्रतिशेयर आम्दानी (ईपीएस) पनि थोरै बढेको छ । समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ५६ पैसा बढेर ४ रुपैयाँ ७५ पैसा पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकको प्रतिसेयर आम्दानी ४.१९ रुपैयाँ रहेको थियो । समीक्षा अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात ५०.५२ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १०८ रुपैयाँ ४ पैसा रहेको छ ।



About Us
प्रतिक्रिया