बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी सार्वजनिक कार्यक्रममा जान छोडेका छन् । बुधबार र बिहीबारका लागि तय भएका कार्यक्रमहरुमा उनले उपस्थित नहुने जानकारी गराएका छन् । तर कारणबारे भने उनले नखुलाएको आयोजकहरुले बताएका छन् ।
बुधबार चार्टर एकाउन्टेन्टहरुको संस्था ए क्यानले मौद्रिक नीतिको विषयमा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको थियो । उनलाई उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोलाइएको थियो । तर कार्यक्रममा उनी सहभागी भएनन् । कार्यक्रममा उनको सट्टामा राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्र सहभागी भए ।
बिहीबारका लागि तय भएको मौद्रिक नीतिको बहस कार्यक्रममा पनि सहभागी नहुने जानकारी उनले आयोजकलाई गराएका छन् । गभर्नर अधिकारी कार्यक्रममा सहभागी नहुने भएपछि उक्त कार्यक्रम नै रद्द गरिएको छ ।
घनश्यम भुसाल प्रमुख रहेको नेकपा एमालेको विभागीय अर्थ तथा योजना विभागको सदस्यमा खोटाङ घर भएका ‘एम अधिकारी’ मनोनित भएको समाचार सार्वजनिक भएको थियो । खोटाङ घर भएका ‘एम अधिकारी’ राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी नै भएको भन्दै उनको चर्का आलोचना भइरहेको छ । यसअघि पनि राष्ट्र बैंकको डेपुटी गभर्नरबाट अवकास भएपछि उनी सुरेन्द्र पाण्डे नेतृत्वमा सोही विभागका सदस्य बनेका थिए ।



About Us
प्रतिक्रिया