बैंकिङ्ग समाचार, काठमाडौं ।
चालु आर्थिक वर्षको जेठ महिनामा साढे ९२ अर्ब रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार २०७९ जेठ महिनामा मात्रै ९२ अर्ब ३९ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको हो ।
जेठ महिनामा गत वैशाख महिनाको तुलनामा ५ अर्ब ३४ करोड बढी रेमिट्यान्स नेपाल भित्रिएको हो ।
चालु आवको ११ महिना अर्थात जेठसम्ममा नेपाल भित्रने कुल रेमिट्यान्स रकम ९ खर्ब ४ अर्ब १८ करोड पुगेको छ । वैशाखसम्ममा कुल ८ खर्ब ११ अर्ब ७९ करोड रेमिट्यान्स भित्रिएको थियो।
अघिल्लो आवको यसै अवधिको तुलनामा चालु आवको यसै अवधिमा भित्रिएको रकम ३३ अर्ब २४ करोड रुपैयाँले धेरै हो । आर्थिक वर्ष २०७७/७८ को एघार महिनामा ८ खर्ब ७० अर्ब ९४ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो ।
समीक्षा अवधिमा विप्रेषण आप्रवाह ३/८ प्रतिशतले बढेर ९०४ अर्ब १८ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १२.६ प्रतिशतले बढेको थियो। अमेरिकी डलरमा विप्रेषण आप्रवाह १.५ प्रतिशतले वृद्धि भई ७ अर्ब ५१ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तोआप्रवाह १०.५ प्रतिशतले बढेको थियो ।
समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या उल्लेख्य रुपमा वृद्धि भई ३ लाख १३ हजार ३६७ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ६८ प्रतिशतले घटेको थियो ।
त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा २०८।३ प्रतिशतले वृद्धि भई २ लाख ५९ हजार ९१ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ५२।१ प्रतिशतले घटेको थियो ।
समीक्षा अवधिमा खुद ट्रान्सफर ३।६ प्रतिशतले वृद्धि भई १० खर्ब ६ अर्ब ७ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ११.५ प्रतिशतले बढेको थियो ।
समीक्षा अवधिमा चालु खाता ५९५ अर्ब ७३ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता २९८ अर्ब ११ करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २ अर्ब ५४ करोडले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा ४ अर्ब ९६ करोडले घाटामा रहेको छ ।
प्रतिक्रिया