टेलिकम जुम्लाद्वारा पाँच हजार ७८९ सिमकार्ड वितरण


जुम्ला – नेपाल टेलिकम शाखा कार्यालय जुम्लाले गत आर्थिक वर्ष २०८२/८३ मा पाँच हजार ७८९ वटा सिमकार्ड वितरण गरेको छ।चालु आर्थिक वर्षको असोज मसान्तसम्म थप एक हजार २१२ वटा सिमकार्ड वितरण गरिएको कार्यालय प्रमुख पारस पुजाराले जानकारी दिए। उनका अनुसार जिल्लामा एक हजार ७२२ ग्राहकले फाइबर इन्टरनेट सेवा लिएका छन्।

हाल सदरमुकाम खलङ्गा बजारमा मात्र उपलब्ध उक्त सेवा आठवटै स्थानीय तहमा विस्तार गर्न केन्द्रीय कार्यालयसँग पहल भइरहेको छ। जुम्लामा २० स्थानबाट फोरजी र सात स्थानबाट टुजी सेवा सञ्चालन भइरहेको छ। जिल्लाका विभिन्न स्थानमा २४ वटा टावर विस्तार गरिएको छ। टेलिकमले कालीकोटमा २२ र मुगुमा १९ वटा टावर विस्तार गरेको जनाएको छ।

टावर निर्माण नहुँदा गुठीचौर गाउँपालिका–१ को निपानी र तातोपानी गाउँपालिका–८ का केही बस्तीमा भने टेलिफोन सेवा पुग्न सकेको छैन। ग्रामीण क्षेत्रमा सञ्चार सेवा विस्तार र नेटवर्क सुदृढीकरणको कामलाई तीव्रता दिइएको कार्यालयले जनाएको छ।