तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर लागुऔषध कारोबारी पक्राउ


काठमाडौं – काठमाडौंको तारकेश्वर नगरपालिका–७ मा हवाई फायर गरेर प्रहरीले लागुऔषध कारोबारमा संलग्न रहेको आरोपमा एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा पर्साका बसुद्दीन मियाँ रहेका छन्।

लागुऔषध नियन्त्रण ब्युरोको टोलीले मंगलबार मियाँलाई पक्राउ गरेको हो। उनको साथबाट ३०० ग्राम खैरो हेरोइन बरामद भएको ब्युरोका एसएसपी सुवास बोहोराले जानकारी दिए।

ब्युरोका अनुसार लागुऔषध कारोबारमा संलग्न रहेको आरोपमा उनलाई नियन्त्रणमा लिन प्रहरी टोलीले हवाई फायर गरेको थियो। घटनामा प्रहरी निरीक्षक राकेश यादवको नेतृत्वमा टोली खटिएको जनाइएको छ।

घटनाका सम्बन्धमा थप विवरण तथा बरामद लागुऔषधको स्रोतबारे भने विस्तृत जानकारी प्राप्त हुन बाँकी छ।