बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल एसबीआई बैंक लिमिटेडले असार २२ गतेदेखि ५ वर्षे अवधिको ऋणपत्र निष्कासन गर्ने भएको छ । बैंकले वार्षिक १०.२५ प्रतिशत ब्याजदरमा ‘नेपाल एसबिआई बैंक ऋणपत्र २०८३’ निष्कासन गर्न लागेको हो । सो बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यका ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्कासन गर्न लागेको हो ।
सोमध्ये ४० प्रतिशत अर्थात १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता सर्वसाधारणलाई बिक्री गरिनेछ भने बाँकी ६० प्रतिशत अर्थात १ अर्ब ८० करोड रुपैयाँ बराबरको १८ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिने बैंकले जानकारी दिएको छ । सो ऋणपत्रमा कुनै पनि सामूहिक लगानी कोषले आवेदन दिएका छैनन् ।
सो ऋणपत्र खरिदका लागि असार २६ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त समयसम्म माग बमोजिम आवेदन नपरेमा साउन ४ गतेसम्म थप हुनेछ । लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम १२ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् । बैंकको ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले सी आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट सो ऋणपत्र खरिदका लागि आवेदन दिन सक्नेछन् ।
ऋणपत्र निष्कासनका लागि गराएको क्रेडिट रेटिङ्गमा इक्रा नेपालले बैंकलाई इक्रा एनपी इस्यूअर रेटिङ्ग डबल ए रेटिङ्ग प्रदान गरेको छ । यसले वित्तीय दायित्व समयमा नै पूरा गर्न सक्ने सम्बन्धमा उच्च मात्रामा सुरक्षित रहेको संकेत गर्दछ ।



About Us
प्रतिक्रिया