घोरदौरामा जिपलाइन सञ्चालनको तयारी

घोरदौरामा जिपलाइन सञ्चालनको तयारी


दाङ– घोराही उपमहानगरपालिका– १८ घोरदौरामा जिपलाइन सञ्चालन गरिँदै छ । घोराही– १८ रझेनाका सुभास गौतमले घोरदौरा जिपलाइन एन्ड एडभेन्चर रिसोर्टमा जिपलाइन परीक्षण गर्न सुरु गरिएको बताए । घोरदौरा आफैँमा पर्यटकीय स्थल भएकाले यसको थप प्रवर्द्धनमा टेवा पुर्‍याउने उद्देश्यले सुरुवात गरिएको उनले बताए ।

‘अहिले काम अन्तिम चरणमा पुगेको छ, अबको एक महिनापछि पूर्ण रूपमा सञ्चालन गर्ने तयारीमा छौँ,’ सञ्चालक गौतमले भने । साढे सात सय मिटर लामो जिपलाइन साहसिक र रोमाञ्चक हुने उनले बताए। छिट्टै सञ्चालनमा आउन लागेको जिपलाइनसँगै स्काई साइक्लिङ पनि हुनेछ ।

स्काई साइक्लिङ भने एक सय ५५ मिटर लामो रहनेछ । घोरदौरा जिपलाइन एन्ड एडभेन्चर रिसोर्टमा जिपलाइन र स्काई साइक्लिङको काम केही बाँकी रहेका कारण प्राविधिकको टोलीले काम गरिरहेको उनी बताउँछन् । हालसम्म रु. एक करोडभन्दा बढी लगानी लागेको र अझै काम भइरहेकाले लगानी बढ्ने गौतमको भनाइ छ । 

घोरदौरामा जिपलाइन र स्काई साइक्लिङ सञ्चालनमा ल्याउनुको मुख्य उद्देश्य यहाँको पर्यटन प्रवर्द्धन गर्नु हो । जिपलाइनका लागि रु. एक हजार आठ सय ५० शुल्क निर्धारण गरिएको र साइक्लिङको भने काम भइरहेकाले अझै शुल्क निर्धारण नभएको सञ्चालक गौतमले बताए ।