गौतम बुद्ध विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान दिगो रूपमा हुन्छः मन्त्री पाण्डे

गौतम बुद्ध विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान दिगो रूपमा हुन्छः मन्त्री पाण्डे


काठमाडौं – लुम्बिनी संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले गौतमबुद्व विमानस्थल सञ्चालनका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन्। सिद्वार्थ उद्योग वाणिज्य संघ रूपन्देहीद्वारा शनिबार भैरहवामा आयोजित गौतम बुद्व अन्तर्राष्ट्रिय विमानस्थलको दिगो सञ्चालनसम्बन्धी अन्तर्क्रिया कार्यक्रममा व्यवसायीहरूले आशंका गरेपछि मन्त्री पाण्डेले अन्तर्राष्ट्रिय उडान नरोकिने प्रतिबद्धतासमेत जनाए।

नेपालकै मध्यभागमा रहेको र बुद्ध जन्मस्थल लुम्बिनीसमेत नजिकै रहेकाले गौतम बुद्ध विमानस्थल सञ्चालन हुँदा यात्रुलाई पनि सहज हुने मन्त्री पाण्डेयले बताए। उनले विमानस्थल दिगो रूपमा सञ्चालन गर्नका लागि आफू महिनामा दुईपटक आउनेसमेत प्रतिबद्धता जनाए।

‘महिनामा दुईपटक विमानस्थलकै लागि भैरहवा आउनेछु,’ उनले भने, संस्कृति र पर्यटन जोडिएकाले भैरहवाबाटै आफ्नो कार्यकक्ष चलाऔँ भन्नेमा लागेको छ। ‘मेची- महाकालीको बिचमा रहेको स्थल, लुम्बिनी र पोखरासमेत नजिक भएकाले यो विमानस्थल चलाउनुपर्छ भनेर लागेका हौँ।’

मन्त्री पाण्डेले बुद्ध जन्मस्थल लुम्बिनीलाई नै केन्द्रमा राखेर विमानस्थल सञ्चालन गरिएकाले भैरहवा अब पर्यटनको इपिसेन्टरको संज्ञा दिए। उनले विमानस्थलसँग सम्बन्धित श्रम, भिसा, मेडिकल, म्यानपावर कम्पनीलगायतका अत्यावश्यक कार्यालयहरू स्थापनाका लागि साउनमै निर्णय भएको बताए। मन्त्री पाण्डेले अब काठमाडौं फर्केर प्रधानमन्त्रीस्तरीय बैठक बसी कार्यान्वयन गरिने उद्घोष गरे।

गौतम बुद्व विमानस्थलमा नियमित उडान गर्न र लुम्बिनी विकास कोषलाई सुधारका लागि आफू पर्यटनको इपिसेन्टर लुम्बिनी आउने बताए। उनले संस्कृति नरहेको बताउँदै अब नहुने काम हुँदैन भनेर भन्ने संस्कार बनाउनुपर्नेसमेत बताए। ‘अहिले अन्तर्राष्ट्रिय उडान भएपछि तपाईंहरूले बधाई दिँदा म झस्किन्छु, किनभने ५ महिनापछि त्यो बधाई, बजाइमा परिणत हुन्छ भन्ने कुरा मैले ख्याल गरेको छु,’ मन्त्री पाण्डेले भने। उनले विमानस्थलसँग सम्बन्धित तत्काल गर्नुपर्ने काम र प्राविधिक तथा दिगो रूपमा गर्नुपर्ने कामहरूलाई सूचीबद्ध गरेर गर्नेसमेत बताए।

लुम्बिनी विकास कोषका अध्यक्षसमेत रहेका मन्त्री पाण्डेले लुम्बिनी विकास कोषले द्रुतगतिमा काम गर्नुपर्ने सुझाव स्वीकार गर्दै आगामी दिनमा त्यसका कमी(कमजोरी सुधार गरेर जाने उद्घोष गरे। उनले होटेल, गुम्बा र स्थानीयहरूका बिचमा देखिएको विवादले काम गर्ने वातावरण नबनेको बताउँदै त्यहाँको द्वन्द्वको मध्यस्थताका लागि निजी क्षेत्रलाई सहयोग गर्न आग्रह गरे।