अमेरिकामा ट्रम्पले जितेपछि नेपालको अर्थतन्त्रमा कस्तो प्रभाव पर्छ ?

अमेरिकामा ट्रम्पले जितेपछि नेपालको अर्थतन्त्रमा कस्तो प्रभाव पर्छ ?

डलर इतिहासकै शक्तिशाली, कच्चा तेल र सुनको मूल्य घट्यो

निकेश खत्री

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – ‘मेक अमेरिका ग्रेट अगेन’ र ‘अमेरिका फस्ट’ जस्ता कट्टर राष्ट्रवादी नारा घन्काउँदै डोनाल्ड ट्रम्प अमेरिकाको ४७औं राष्ट्रपति चयन भएका छन् । यसअघि, सन् २०१६ मा पनि ट्रम्पले अमेरिकाको नेतृत्व गरेका थिए । सन् २०२० मा डेमोक्र्याटका जोइ बाइडेनसँग पराजित भएपनि हालसालै सम्पन्न निर्वाचनमा शानदार जित हात पार्दै ट्रम्प ४७औं राष्ट्रपतिकारुपमा निर्वाचित बनेका हुन् ।

विश्वको सबैभन्दा ठुलो अर्थतन्त्र भएकाले अमेरिकाको चुनावमा विश्वभरको नजर हुन्छ । अमेरिकामा राष्ट्रपति नै सर्वेसर्वा हुन्छन्। उनै कार्यकारी हुन्छन् । यस आधारमा अमेरिकाको राष्ट्रपतिले लिने निर्णय र चाल्ने कदमले अमेरिकाको मात्र नभएर विश्वभरको अर्थतन्त्र उथलपुथल बन्न पुग्छ । यही कारण, विश्वभरका नेता, सर्वसाधारण, अर्थशास्त्री र उद्यमी/व्यवसायीले अमेरिकाको चुनाव नियाल्छन् र चुनावी नतिजाको प्रभाव लगत्तै देखिन सुरु गर्छ ।

डेमोक्र्याटकी कमला ह्यारिसलाई पराजित गर्दै राष्ट्रपतिमा ट्रम्पको पुनरोदयसँगै अमेरिकी डलरको मूल्य ऐतिहासिक बिन्दुमा पुगेको छ । अमेरिकी डलरमा आउने घटबढले अमेरिकाको कूल गार्हस्थ्य उत्पादन (जिडिपी)मा ठुलो प्रभाव पार्छ । चुनावी नतिजा ट्रम्पको पोल्टामा पुगेपछि लगत्तै डलर बढ्यो र यसको प्रभाव विश्वभर देख्न सुरु भयो । लगत्तै विश्वभर कच्चा तेलको मूल्य घट्न सुरु गरेको छ भने सुनको मूल्य समेत घट्न थालेको छ ।

कच्चा तेल र सुनको मूल्यको गिरावट भावी दिनसम्म निरन्तर कायम नरहे पनि तत्कालका लागि भने ट्रम्पको विजयीका कारण मान्न सकिने अन्तर्राष्ट्रिय समाचार माध्यमहरूले जनाएका छन् । यसबाहेक, अमेरिकालाई क्रिप्टोकरेन्सीको राजधानी बनाउने घोषणा गरेका ट्रम्पको जित निश्चित भएसँगै बिटक्वाइनको मूल्य ऐतिहासिक बिन्दुमा पुगेको छ ।

साथै, अमेरिकासहित विश्वभरको शेयर बजारमा समेत सकारात्मक प्रभाव परेको देखिन्छ । चुनावी नतिजा सार्वजनिक हुने दिन अमेरिकाको शेयर बजारमा उछाल आएको थियो । यसबाहेक, अस्ट्रेलिया, जापान, चीन लगायतका शेयर बजारमा समेत उछाल देखिएको छ । यसबीचमा हङकङको शेयर बजारमा भने नकारात्मक प्रभाव परेको समाचार संस्था बीबीसी लेख्छ ।

डलर अहिलेसम्मकै शक्तिशाली

ट्रम्पले जितेसँगै अमेरिकी डलरको मूल्य बढेको छ । यससँगै नेपालमा डलरको मूल्य अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आज एक अमेरिकी डलरको बिक्रीदर १३५.१६ रुपैयाँ छ । यो अहिलेसम्मकै उच्च बिन्दु हो । अमेरिकी डलर बलियो बनेर भारतीय मुद्रा कमजोर बनेसँगै नेपाली मुद्रा समेत कमजोर बनेको हो ।

नेपाली र भारतीय मुद्रा (भारु) बीच स्थिर विनिमय दर छ । यही कारण, भारु कमजोर हुँदा अमेरिकी डलरसँग नेपाली रुपैयाँ स्वतः कमजोर बन्छ । डलर बलियो हुँदा विदेशबाट नेपाल भित्रिने रेमिट्यान्समा नेपाललाई फाइदा हुन्छ । यस्तै, नेपालबाट हुने निर्यातमा समेत धेरै रुपैयाँ नेपाल भित्रन्छ । तर, नेपाल आयातमा आधारित अर्थतन्त्र भएकाले डलर शक्तिशाली बन्दा नेपाललाई घाटा हुन्छ ।

यसबाहेक, डलर बढ्दा नेपालको वैदेशिक ऋणमा समेत घटबढ हुन्छ । डलर बढ्दा नेपालले तिर्नुपर्ने ऋणको आकार समेत प्रभावित बन्ने सार्वजनिक ऋण व्यवस्थापन कार्यालय बताउँछ ।

घट्यो सुन र कच्चा तेल

राष्ट्रपतिमा ट्रम्प जितेपछि अन्तर्राष्ट्रिय बजारमा सुन र कच्चा तेलको मूल्य घटेको छ । समाचार संस्था रोयटर्सका अनुसार कच्चा तेलको मूल्य घटेको हो । अमेरिकी डलर बलियो बन्दा कच्चा तेलको मूल्यमा गिरावट आएको रोयटर्सले लेखेको छ । ब्रेन्ट बेन्चमार्कको कच्चा तेल ०.८१ प्रतिशत घटेर प्रतिब्यारेल ७४.९२ अमेरिकी डलरमा आइपुगेको छ । यस्तै डब्लूटीआई कच्चा तेल ०.४२ प्रतिशतले घटेर ७१.६९ अमेरिकी डलर प्रतिब्यारेलमा आइपुगेको छ ।

कच्चा तेलको मूल्य निरन्तर घटेमा यसको प्रत्यक्ष फाइदा नेपालले समेत पाउनेछ । किनकि, नेपालको तेल बजार पूर्णरुपमा आयातमा निर्भर छ । पश्चिम एसियाली मुलुक (साउदी अरब, इरान, कतार, संयुक्त अरब इमिरेट्स र रुस) लगायतबाट भारतले कच्चा तेल किन्छ । र, प्रशोधन गरेर नेपाललाई प्रशोधित तेल बेच्छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य खुम्चिएमा नेपालले समेत सस्तोमा कच्चा तेल पाउनेछ ।

यसबाहेक, अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य समेत खुम्चिएको छ । कच्चा तेलको मूल्य घट्दाको प्रभाव तत्कालै नदेखिए पनि सुनको मूल्य घट्दाको प्रभाव लगत्तै देखिन्छ । निरन्तररुपमा बढिरहेको सुनको मूल्य पछिल्ला निरन्तर घट्न थालेको छ । अझै ट्रम्पले अमेरिकामा शानदार जित हात पारेसँगै पछिल्लो दुई दिनमा अन्तर्राष्ट्रिय बजारमा प्रतिऔन्स ३ प्रतिशतसम्म खुम्चिएको छ।

नोभेम्बर ५ मा प्रतिऔन्स २७४० अमेरिकी डलर रहेको सुनको मूल्य आजसम्म आइपुग्दा २६५७ अमेरिकी डलरमा आइपुगेको छ । यो गिरावट निरन्तर कायम रहेमा यसको प्रत्यक्ष प्रभाव नेपालमा समेत पर्नेछ ।

रोकिन सक्छ अन्तर्राष्ट्रिय अनुदान

ट्रम्पले निरन्तररुपमा अमेरिका फस्ट जस्ता राष्ट्रवादी नारा लगाउँदै आएका छन् । उनले अघिल्लो कार्यकालमा विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष, विश्व स्वास्थ्य संगठन र जलवायु परिवर्तन लगायत जस्ता अन्तर्राष्ट्रिय सङ्घसंस्थालाई दिने रकम घटाउनेछन् वा पूर्णरुपमा रोक्ने काम गरेका थिए । पहिलो कार्यकालको आफ्नो योजनालाई यो कार्यकालमा पनि निरन्तरता दिएमा नेपालले पाउने अन्तर्राष्ट्रिय अनुदान रोकिनेछ ।

विश्व बैंक र मुद्रा कोषजस्ता संस्थाबाट पाउँदै आएको अनुदान रोकिनेछ भने विश्व स्वास्थ्य संगठनले दिने अनुदान समेत रोकिनेछ। जलवायु परिवर्तन रोक्न जाने रकम समेत रोकिएपछि वनजंगल राखेबापत नेपालले पाउने रकम समेत पूर्णरुपमा रोकिन सक्छ । जसको प्रत्यक्ष प्रभाव नेपालको अर्थतन्त्रमा पर्न सक्छ ।

डलर बलियो बन्दाको प्रभाव नेपालमा देखिन्छ: नेपाल

नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर चिरिञ्जिवि नेपाल ट्रम्पको जितको प्रभावका कारण बलियो बनेको डलरको प्रत्यक्ष प्रभाव नेपालमा पर्ने बताउँछन् । यतिबेला नेपालसँग पर्याप्त मात्रामा डलरको सञ्चिति रहेकाले तत्कालै कुनै प्रभाव नपर्ने उनको भनाइ छ । यद्यपि, नेपालको रेमिट्यान्सको आप्रवाह अहिलेकै गतिमा चलेमा भने डलरको सञ्चिति थप बढ्ने उनी बताउँछन् ।

‘डलरको सञ्चिति बढ्दै जाँदा डलर बलियो हुँदा बाह्य पक्ष थप बलियो हुन्छ,’ उनले बैंकिङ्ग समाचारसँग भने, ‘पछिल्ला दुई दिन यता घटेको सुन र तेलको मूल्य घटिरहेमा अर्थतन्त्रमा प्रत्यक्ष प्रभाव पर्ने नै छ ।’ तर, यसबाहेक अन्य प्रभाव नेपालको अर्थतन्त्रमा नदेखिने उनको भनाइ छ ।