बैंकिङ्ग समाचार, काठमाडौं ।
तनहुँको बन्दीपुर–१ डुम्रेमा केन्द्रीय कार्यालय रहेको सबैको लघुवित्तले संस्थाका आफ्ना २५ जना ग्राहकहरुको सहभागितामा बैशाख २४ गतेदेखि २६ गतेसम्म कञ्चनपुरको बेलौरीमा “ब्यवसायिक बंगुरपालन तालिम” सम्पन्न गरेको छ । यस तालिममा प्रशिक्षक राम बहादुर चौधरी, रेनुका चौधरी, पवन कुमार श्रेष्ठ, बुद्धिराम चौधरी, जनक राम थारु रहेको संस्थाका नायब महाप्रवन्धक पवन कुमार श्रेष्ठले जानकारी गराएका छन् ।
संस्थाले आफनो ग्राहक सदस्यहरुलाई उद्यमी बनाउनकालागि विभिन्न किसिमका सीपमूलक तालिम प्रदान गर्दै आईरहेको छ । ब्यवसायिक रुपमा बंगुरपालन गर्नमा यस तालिम फलदायि हुने लघुवित्तको अपेक्षा रहेको छ । कर्जाको सदुपयोगिता गरेमा मात्र फाईदा हुने भएकोले कर्जा सदुपयोगिता गर्न सुझाउनकासाथै तालिममा लिएका सीपलाई ब्यवहारमा लागू गर्न जानकारी गराइएको थियो ।
तालिमको दोश्रो दिन तालिममा सहभागीहरुलाई कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका झलारीका बंगुरपालन कृषक कलावती देवी भट्ट/गगन राज भट्टको रिभरसाइड पिग एण्ड एग्रो फार्मको बंगुर फार्ममा २५० वटा बंगुरहरु र खोर तथा कञ्चनपुर, शुक्लाफाँटा नगरपालिका जोनापुरका बंगुरपालन कृषक दिपक चौधरीको बंगुरपालन फार्ममा २५ वटा बंगुर र खोर हेर्न अवलोकन भ्रमणको ब्यवस्था मिलाईएको थियो ।
संस्थाले ग्राहकहरुलाई वित्तीय सेवाहरुका साथसाथै ग्राहकहरुको क्षमता अभिवृद्धि गराउन तथा ब्यवसायिक रुपमा ब्यवसाय सञ्चालन गर्न सघाउ पुर्याउन विभिन्न किसिमका सीप विकास तालिम सञ्चालन गर्दै आई रहेको छ । संस्थाले यस आर्थिक वर्षमा संस्थाका आफ्ना ग्राहक सदस्यहरुलाई विभिन्न किसिमका सीप विकास तालिमहरु सञ्चालन गर्दैं जाने लक्ष्य रहेको बारेमा संस्थाका नायब महाप्रवन्धकले जानकारी गराएका थिए ।
सहभागीहरुले तालिममा ब्यवहारिक कुराहरु सिक्न पाएको, दाना बनाउने विधि र बंगुरपालन कृषकहरुको फार्म प्रत्यक्ष अवलोकन गरी धेरै कुराहरु सिक्न पाएकोमा खुसी ब्यक्त गरेका थिए । सहभागीहरुले तालिममा सिकेका कुराहरु ब्यवहारमा उतार्ने प्रतिवद्धता जाहेर गरेका थिए ।
संस्थाले पाँच वर्षदेखि निरन्तर लघुवित्त सेवा प्रदान गरी रहेको, यस संस्थाबाट कर्जा लिई ब्यवसाय गरी धेरै घरपरिवार आर्थिक समुन्नततिर अगाडि बढेको बारेमा पनि महाप्रवन्धकले जानकारी गराएका थिए ।
संस्थाले ७ प्रदेश, ४३ जिल्लाहरुमा ९० वटा शाखा कार्यालय, ५ मुकाम कार्यालय र केन्द्रीय कार्यालय गरी ९६ वटा कार्यालयहरुको सञ्जालबाट ७३,६७७ घरधुरीमा कार्यक्रम विस्तार गरेको छ ।
प्रतिक्रिया