काठमाडौं – दसैं अघिको अन्तिम कारोबार दिन आज बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य बढेर बन्द भएको छ । कारोबार खुलेदेखि नै नागबेली चालमा चलेको शेयर बजार अन्तिमसम्ममा सामान्य वृद्धिसँगै बन्द भएको हो ।
२६६१ अंकबाट कारोबार खुलेको शेयर बजार घटेर २६४४ अंकसम्म पुगेको थियो । तर, फेरी विस्तारै बढ्न थालेर २६७२ अंकसम्म पुगेको थियो । अन्तिममा एकाएक उकालो लाग्दै परिसूचक २६६८ अंकमा पुगेर रोकिएको हो ।
यसक्रममा आज १३० वटा कम्पनीको शेयर बढेको छ । यस्तै, १०२ वटा कम्पनीको शेयर मूल्य घटेको छ भने ११ वटा कम्पनीको मूल्य स्थिर छ । बजार ४.८५ अंकले बढ्दा मिड सोलु हाइड्रोपावरको शेयर मूल्य १० प्रतिशत बढेको छ । यस्तै, अप्पर स्यांगे हाइड्रोपावर र राप्ती हाइड्रो एण्ड जनरल कन्सट्रक्सनको शेयर मूल्य समेत ९ प्रतिशतभन्दा बढीले बढेको छ ।
आज बुधबार ३ अर्ब ७६ करोड रुपैयाँ बराबरको ८३ लाख १२ हजार कित्ता शेयर किनबेच भएको छ । यसक्रममा आज व्यापार समूह, जीवन बीमा समूह, लगानी समूह र विकास बैंक समूहमा गिरावट आएको छ । यीबाहेक अरु समूहमा भने वृद्धि देखिएको छ । सबैभन्दा धेरै उत्पादनमूलक समूह ७४ अंकले बढेको छ भने सबै भन्दा धेरै व्यापार समूह २८ अंकले घटेको छ ।
प्रतिक्रिया