मनास्लु आरोहणमा धेरैको आकर्षण

मनास्लु आरोहणमा धेरैको आकर्षण


काठमाडाैं – मनास्लु (आठ हजार एक सय ६३ मिटर) हिमाल आरोहणमा आरोहीको आकर्षण बढेको छ । विश्वको आठौँ अग्लो र नेपालको सातौँ मनास्लु आरोहणका लागि विगत वर्षझैँ मनास्लु आरोहणमा यस वर्षको शरद् ऋतु (अटम सिजन)को हिमाल आरोहणमा पनि आरोहीको आकर्षण देखिएको हो ।

पर्यटन विभागका निर्देशक राकेश गुरुङका अनुसार यो सिजनमा मनास्लु आरोहणका लागि २८ आरोही समूहका तीन सय आठ जनाले अनुमति लिएकामा अधिकांशले आरोहण गरेका छन् । यसमा ८२ महिला र दुई सय २६ पुरुष छन् । ‘मनास्लु आरोहणमा आरोहीको आकर्षण देखिएको छ’, उनले भने, ‘मनास्लु आरोहण करिब सकिन लागेको छ, अनुमति लिएका अधिकांशले सफल आरोहण गरेका छन्, अब एक–दुई दिनमा मनास्लु आरोहण सकिन्छ ।’

‘ दुई साताअघि यहाँ आरोहण सुरु भएको थियो । विभागका अनुसार अघिल्लो वर्षको यही सिजनको मनास्लु आरोहणमा २६ आरोही समूहका तीन सय एक जनाले आरोहण अनुमति लिएका थिए । हाल अमादब्लम र हिम्लुङको आरोहण पनि चलिरहेको छ । यही असोज ११ र १२ गतेको अविरल वर्षाले मुलुकमा बाढीपहिरोलगायत प्राकृतिक विपत्तिका घटनाका बाबजुद पर्वतारोहण उत्साहजनक रहेको विभागले उल्लेख गरेको छ ।

पर्वतारोहणमा त्यति धेरै क्षति नपुगे पनि पदयात्रामा भने केही समस्या भएको विभागले जनाएको छ । यस सिजनमा मनास्लुसहित ३४ हिमाल तथा ‘पिक’ आरोहणका लागि ६१ आरोही समूहका एक सय १३ महिला र तीन सय ७९ पुरुष गरी पाँच सय १० आरोहीले अनुमति लिएका विभागको पर्वतारोहण शाखाले जनाएको छ ।

विभिन्न हिमाल आरोहणका लागि नेपालसहित ५८ देशका आरोहीले अनुमति लिएका छन् । यो सिजनमा हिमाल आरोहणबापत रु चार करोड ९७ लाख ३३ हजार ५८ रोयल्टी रकम सरकारी खातामा जम्मा भएको छ । अमादब्लम आरोहणका लागि दुई आरोही समूहका १८, धवलागिरिमा एक आरोही समूहका १४, मकालुमा एक आरोही समूहका दुई आरोहीले अनुमति लिएका छन् ।

शरद् ऋतु मनास्लु आरोहणका लागि उपयुक्त मौसम मानिने भएकाले सर्वाधिक आरोहीको रोजाइमा पर्छ । सन् १९५६ मे ९ तारिखमा जापानी नागरिक तोसियो इमनिसी र नेपाली ग्याल्जेन नोर्बु शेर्पाले आठ हजार एक सय ६३ मिटर अग्लो मनास्लुको सफल आरोहण गर्नुभएको थियो । त्यसको दुई दिन अर्थात् मे ११ मा जापानिज नोर्बु हिगेता र किचिरो कातोले मनास्लु आरोहण गरेको तथ्याङ्क छ । सन् १९५६ मे १८ मा स्वीस नागरिक आन्स रेज र रिट्ज लुचिसिङ्गरले मनास्लु आरोहण गरेका थिए ।

सेभेन सम्मिट ट्रेक्स प्रालिका कार्यकारी निर्देशक पासाङफुर्वा शेर्पाले आफ्नो कम्पनीबाट ८० भन्दा धेरै आरोही मनास्लु आरोहणमा गएको जानकारी दिनुभयो । अब करिब १० प्रतिशत मात्र आरोहीले मनास्लु आरोहण गर्न बाँकी रहेको उहाँले बताउनुभयो । लामो आरोहण इतिहास रहेको गोरखामा अवस्थित मनास्लु हिमालको २०७३ सालमा ६० वर्षे हीरक महोत्सव मनाइएको थियो । यस हिमाललाई कुताङ र हृदयको हिमाल पनि भन्ने गरिन्छ ।

मानसिरी पर्वतशृङ्खलामा रहेको यो संसारको आठौँ अग्लो हिमाल हो । विसं २०७७ असोज २९ गते बहराइनका राजकुमार सेख मोहम्मद हमाद मोहम्मद अल खलिफासहितको २१ जनाको टोली मनास्लु आरोहण गरेपछि विश्वभर यस हिमालको चर्चा भएको थियो । उक्त आरोहणले नेपालको पर्वतारोहणलाई विश्वबजारमा थप प्रवर्द्धन गर्न सघाउ पुगेको नेपाल पर्वतारोहण सङ्घले जनाएको छ ।