नेपालको क्रसबोर्डर डिजिटल भुक्तानी रुपान्तरण गर्दै मोको, मास्टरकार्डपछि अलिपेसँग सहकार्य

नेपालको क्रसबोर्डर डिजिटल भुक्तानी रुपान्तरण गर्दै मोको, मास्टरकार्डपछि अलिपेसँग सहकार्य


काठमाडौं – नेपालको वित्तीय सेवा कम्पनी फोकसवान पेमेन्ट सोल्युसन्सले चीनको अलिपेसँग सहकार्यको घोषणा गरेको छ । आज आयोजित एक कार्यक्रममा मोको क्यूआरले अलि पेसँग सहकार्यको घोषणा गरेको हो ।

यस सहकार्यमा हिमालयन बैंकको महत्वपूर्ण साझेदारीमा छ । जसले, नेपालको व्यापारिक क्षेत्रमा अन्तर्राष्ट्रिय ग्राहकहरूबाट सहज रूपमा भुक्तानी लिन मञ्च प्रदान गर्छ ।

एन्ट ग्रुपसँगको यो साझेदारीले नेपालको डिजिटल भुक्तानी प्रणालीलाई नयाँ उचाइमा पुर्याउनमा एक महत्वपूर्ण कदम अघि बढाएको कम्पनीको दाबी छ ।

अलिपे दक्षिणपूर्वी एशिया लगायत १४ देशका १.५ अर्बभन्दा बढी उपभोक्ताहरूलाई सहज रूपमा मोबाइल भुक्तानीको सुविधा प्रदान गर्दै आइरहेको कम्पनी हो ।

यसमा अलिपे (चीन), अलिपे एचके (हङकङ), टिनाबा (इटाली), एमपे (मकाओ), माईपीबी (मलेशिया), हिपे (मंगोलिया), जीक्यास (फिलिपिन्स), चांगी पे र ओसीबीसी डिजिटल (सिंगापुर( छन् । यस्तै नावर पे र टस पे (दक्षिण कोरिया) र ट्रूमनी (थाइल्याण्ड) जस्ता महत्वपूर्ण भुक्तानी एपहरू समावेश छन् ।

साथै, काकाओ पे र टच एन गो इवालेट जस्ता थप भुक्तानी एपहरू पनि चाँडै यस सूचीमा समावेश हुने बताइएको छ । कार्यक्रममा नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशक विनोदराज आचार्यले यो साझेदारीले नेपालको डिजिटल भुक्तानी क्षेत्रमा महत्त्वपूर्ण भूमिका खेल्ने बताए ।

‘यस सेवाले राष्ट्रिय र अन्तर्राष्ट्रिय ग्राहकहरूको लागि सहज र सुरक्षित भुक्तानीको वातावरण बनाउनेछ, जसले गर्दा लेनदेनहरू अझ सजिलो, सुविधाजनक र सुरक्षित हुनेछन्,’ उनले भने ।

यस्तै फोकस वानका प्रणय राजभण्डारीले यो सम्झौताबाट नेपालको पर्यटन उद्योगलाई सहयोग पुग्ने बताए । सम्झौतासँगै अलिपे र यससँग सम्बन्धीत कम्पनहरुको प्रयोगकर्ताले नेपाल भ्रमण गर्दा सहजै भुक्तानी गर्न सक्नेछन् । जसबाट कोरोना महामारीपछि सुधारिँदै रहेको पर्यटन क्षेत्रमा टेवा पुग्ने बताइएको छ ।

मोको क्यूआर पछिल्लो समय नेपाललाई अन्तर्राष्ट्रिय (क्रसबोर्डर) भुक्तानीको क्षेत्रमा निरन्तर आफ्नो कार्यक्षेत्र विस्तार गर्दै आइरहेको छ । यसअघि कम्पनीले मास्टरकार्ड इन्डियासँग समेत यस्तै सम्झौता गरेको थियो ।