दसैंको पूर्वसन्ध्यामा बढ्यो आयात, दुई महिनामा २ खर्ब ६२ अर्ब बाहिरियो

दसैंको पूर्वसन्ध्यामा बढ्यो आयात, दुई महिनामा २ खर्ब ६२ अर्ब बाहिरियो


काठमाडौं – विगत लामो समयदेखि घट्दै आएको नेपालको आयात बढ्न थालेको छ । भन्सार विभागको तथ्यांकअनुसार लामो समयदेखि घट्न थालेको नेपालको आयात चालू आर्थिक वर्षको दोस्रो महिनामा बढेको हो ।

दसैंको पूर्वसन्ध्यामा विदेशबाट हुने आयात १.०८ प्रतिशतले बढेको छ । चालू वर्ष २०८१/८२ को दुई महिनाको अवधिमा विदेशबाट २ खर्ब ६२ अर्ब ५४ करोड रुपैयाँभन्दा बढीको आयात भएको छ । गत वर्ष यस अवधिमा २ खर्ब ५९ अर्ब ७४ करोड रुपैयाँको आयात भएको थियो ।

आर्थिक वर्ष २०७८/७९ मा नेपालमा ऐतिहाँसिक आयात भएको थियो । सो आर्थिक वर्ष कोरोना महामारीबाट बच्न गरिएको बन्दाबन्दी खुलेको थियो । सोहीकारण, मानिसहरुले लामो समयदेखि किन्न नपाएका सामाग्री खरिद गर्दा आयात २४ प्रतिशतले बढेको थियो ।

आयातमा आएको उच्च वृद्धिसँगै सो आर्थिक वर्ष नेपालले विदेशबाट १९ खर्ब २० अर्ब रुपैयाँको आयात गरेको थियो । त्यसयता निरन्तर घट्न थाल्यो र योक्रम चालू वर्षको पहिलो महिना (साउन)सम्म पनि जारी रह्यो । तर, भदौ महिनामा भने आयात बढेको छ । असोज महिनाको दसैंका लागि समेत व्यापारीले सामानको माग बढाउँदा आयात बढेको हो ।

चालू वर्षको भदौसम्मको अवधिमा आयात १.०८ प्रतिशतले बढेपनि निर्यात भने ठूलो मात्रामा घटेको छ । यस अवधिमा नेपालको निर्यात ५.१२ प्रतिशतले घटेको छ । यस अवधिमा नेपालबाट २५ अर्ब ९ करोड रुपैयाँको निर्यात भएको छ । यो गत वर्षको तुलनामा कम हो ।

गत आर्थिक वर्षको यही अवधिमा नेपालबाट २६ अर्ब ४४ करोड ७० लाख रुपैयाँको निर्यात भएको थियो । दसैंको मुखमा विदेशबाट हुने आयात बढेपनि निर्यात नबढ्दा आन्तरिक उत्पादन र निर्यातमूलक उद्योगधन्दा नचलेको संकेत गर्छ ।