भारतीय केन्द्रीय बैंकका गभर्नर दास नेपालमा

भारतीय केन्द्रीय बैंकका गभर्नर दास नेपालमा


काठमाडौं – भारतको केन्द्रीय बैंक ‘रिजर्व बैंक अफ इन्डिया’ (आरबीआई)का गभर्नर शक्तिकान्त दास नेपाल आइपुगेका छन् । नेपालको केन्द्रीय बैंक नेपाल राष्ट्र बैंक (एनआरबी)को निम्तोमा आरबीआईका गभर्नर दास नेपाल आइपुगेका हुन् ।

राष्ट्र बैंकले नेपालको पहिलो गभर्नर हिमालय शम्शेर जबराको स्मृतिमा ‘हिमालयन शम्शेर मेमोरियल लेक्चर सिरिज’ सुरु गर्दै छ। यही सिरिजको पहिलो संस्करणमा सहभागिता जनाउनका लागि दास आज नेपाल आइपुगेको राष्ट्र बैंकले जानकारी दिएको छ ।

मंगलबार काठमाडौंमा चल्ने यो एकदिने कार्यक्रममा सहभागी बनेर दास भारत फर्कने कार्यक्रम छ । नेपाल राष्ट्र बैंककाअनुसार सो कार्यक्रममा राष्ट्र बैंकका कर्मचारीको मात्रै सहभागीता हुनेछ ।

बैंकका कर्मचारीसहित करिब २०० जनाको सहभागीता रहने कार्यक्रममा सम्बोधन गरेपछि दास फर्कनेछन् । आरबीआईका गभर्नर दासले समेत सो कार्यक्रममा सम्बोधन गर्ने कार्यक्रम रहेको राष्ट्र बैंकका सूचना अधिकारी भागवत आचार्यले जानकारी दिए ।