काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले भ्रष्टाचार अन्त्यको थालनी नेपाल धितोपत्र बोर्डबाट सुरु गर्न प्रधानमन्त्रीलाई चूनौती दिएका छन् । आजको प्रतिनिधिसभाको बैठकमा बोल्दै झाले बोर्डको अध्यक्ष नियुक्ती गर्दादेखि नै भ्रष्टाचार अन्त्यको सुरुवात गर्न चूनौती दिएका हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार गर्दिन र हुन दिन्न भन्ने गरेका छन् । उनले प्रधानमन्त्रीमा नियुक्त भएदेखि नै यही विषय दोहोर्याउँदै आएका छन् । यस्तै, चित्रगुप्ताको अघि पुगेर समेत यसबारे अन्तरवार्ता दिन तयार रहेको प्रधानमन्त्री ओली बताउँछन् ।
यही विषयलाई जोडेर रास्वपाका सांसद झाले शेयर बजारको नियामकीय निकाय बोर्डबाटै भ्रष्टाचार अन्त्यको सुरुवात गर्न भनेका हुन् । बोर्डमा ९ महिनादेखि अध्यक्ष नियुक्त हुन सकेको छैन । निवर्तमान अध्यक्ष रमेश हमालले छाडेयता बोर्ड नेतृत्वविहीन छ ।
सोहीकारण छिट्टै राजनीतिकरण र दलीयकरणबाट बाहिर निस्केर बोर्डमा अध्यक्ष नियुक्त गर्न झाले प्रधानमन्त्री ओलीलाई चूनौती दिएका हुन् । ‘६३ लाख डिम्याट होल्डर्सलाई नै बोर्डको अध्यक्षमा आवेदन दिन आह्वान गरौं,’ उनले भने, ‘परेको आवेदनमा ‘भिजन पेपर’ हेरौं र ६३ लाख शेयर लगानीकर्तालाई नै मतदान गराउँ ।’
यसो गरेमा मात्र भ्रष्टाचार अन्त्यको सुरुवात हुने झाको भनाई छ । उनले आफू लेखा समितिको सदस्य समेत भएकाले बोर्डमा हुने आर्थिक चलखेलबारे जानकार रहेको बताए । ७ महिनासम्म कर्मचारीलाई तलब खुवाउन नसकेको कम्पनीले समेत प्रिमियममा शेयर ल्याएको र घाटामा रहेको सिमेन्ट कम्पनीले पनि प्रिमियममा शेयर ल्याएको उनको भनाई छ ।
धेरै लगानीकर्ता जोडिएका कारणले बोर्डमा निष्पक्षरुपमा अध्यक्ष ल्याउनका लागि पहल गर्न उनले पटक–पटक आग्रह गरे । सांसद झाले बोर्डमा दलीयकरण र राजनीतिक नियुक्त नगर्न आह्वान गरेपनि सत्तामा हुँदा रास्वपा राजदूतमा हिस्सा खोजेको थियो ।
प्रतिक्रिया