काठमाडौं – नेशनल पेमेन्ट स्विच अन्तर्गत कार्यान्वयनमा रहेको रिटेल पेमेन्ट स्विच (आरपीएस) ले २०८१ असार मसान्तसम्म ६ खर्ब ७३ अर्बको भुक्तानी कारोबार फछ्र्याैट गरेको छ । यो कारोबार रकमको आधारमा गत वर्षको तुलनामा ३८ प्रतिशतले वृद्धि हो ।
यस्तै, कारोबार सङ्ख्याको आधारमा ४९ प्रतिशतको वृद्धि हो । यसरी गत ४ महिनादेखि आरपीएसमा मासिक ५ खर्बभन्दा बढीको कारोबार हुँदै आएको कम्पनीले जनाएको छ । जेठ महिनामा ५ खर्ब ७७ अर्ब, वैशाखमा ५ खर्ब २७ अर्ब र चैत्रमा ५ खर्ब १७ अर्ब कारोबार भएको बताइएको छ ।
आ.व.२०८०/८१ मा आरपीएसमार्फत कुल ५६ खर्ब ९७ अर्ब बराबरको भुक्तानी कारोबार भएको छ । नेपाल राष्ट्र बैंकबाट प्रकाशित पेमेन्ट्स इन्डिकेटर अनुसार आरपीएसबाट हुने भुक्तानी कारोबार चेक, आइपिएस, मोबाइल बैंकिङ्ग तथा कार्डबाट हुने गरेको कारोबारभन्दा बढी रहेको छ ।
२०७८ पौषदेखि एक छुट्टै च्यानलको रूपमा नेपाल पेमेन्ट स्विच अन्तर्गत कार्यान्वयनमा रहेको आरपीएसले कारोबार सङ्ख्या र रकमको आधारमा ४ गुणाले वृद्धि गरेको छ । यसबाट डिजिटल भुक्तानीमा उल्लेख्य वृद्धि भई ‘क्यासलेस’ कारोबार तर्फको यात्रामा थप टेवा पुग्ने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया