काठमाडौं – साउन महिनामा ९ अर्ब १४ करोड रुपैयाँभन्दा बढीको विदेशी लगानीको प्रतिबद्धता नेपाल भित्रिएको छ । चालू आर्थिक वर्ष २०८१/८२ को पहिलो महिना नै ९ अर्ब रुपैयाँभन्दा बढीको लगानी प्रतिबद्धता भित्रिएको हो ।
गत आर्थिक वर्ष २०८०/८१ को साउन महिनाको तुलनामा भने चालू वर्षको साउनमा भित्रिएको लगानी प्रतिबद्धता खुम्चिएको छ। गत वर्षको साउन महिनामा ११ अर्ब ९३ करोड रुपैयाँभन्दा बढीको लगानी प्रतिबद्धता नेपाल भित्रिएको थियो ।
त्यसबापत ३ हजार ३०१ जनालाई रोजगारी सृजना हुने उद्योग विभागले जानकारी दिएको छ । तर, रोजगारीको मामिलामा समेत ३२३ जनालाई मात्रै रोजगारी आउने देखिएको छ । उद्योग विभागको तथ्यांकअनुसार गत वर्षको साउन महिनाको तुलनामा ज्यादै न्यून रोजगारी प्रतिबद्धता आएको हो ।
यो रोजगारी प्रतिबद्धता बमोजिमको लगानी नेपाल भित्रिएमा मात्रै सृजना हुनेछ । यस अवधिमा ५७ वटा साना उद्योगमा लगानीको प्रस्ताव आएको छ । यस्तै, २ वटा मात्रै ठुला उद्योगमा लगानीको प्रस्ताव आएको विभागले जानकारी दिएको छ ।
आएको प्रतिबद्धतामध्ये सबैभन्दा धेरै पर्यटन क्षेत्रमा ७३ प्रतिशत लगानी प्रस्ताव आएको छ । यसपछि उत्पादनमूलक, सेवा क्षेत्र, सूचना प्रविधि क्षेत्र र कृषि क्षेत्रमा प्रतिबद्धता आएको छ । यस अवधिमा खनिज जन्य र पूर्वाधार क्षेत्रमा लगानी आएको छैन भने ऊर्जामा समेत लगानी प्रतिबद्धता छैन ।
गत आर्थिक वर्ष ७० अर्ब रुपैयाँभन्दा बढी लगानीको प्रतिबद्धता भित्रिएकाे थियो । सरकारले विदेशी लगानी भित्र्याउने लक्ष्यसहित वैशाख १६/ १७ गते लगानी सम्मेलन नै गरेको थियो । दुई दिने सम्मेलनका क्रममा जम्माजम्मी १२ अर्ब रुपैयाँ बराबरको मात्रै लगानी सम्झौता भएको थियो ।
यद्यपि, वर्षभरिको अवधिमा भने अघिल्ला वर्षहरूको तुलनामा उच्च लगानी प्रतिबद्धता गत आर्थिक वर्षमा आएको थियो । त्यसअघि आर्थिक वर्ष २०७१/७२ मा मात्रै यति धेरै लगानी प्रतिबद्धता आएको थियो । सो आर्थिक वर्षमा ६७ अर्ब रुपैयाँको प्रतिबद्धता आएको विभागको तथ्याङ्क छ ।
प्रतिक्रिया