शेयर बजारमा ७९ अंकको गिरावट, परिसूचक २८ सयको बिन्दुमा

शेयर बजारमा ७९ अंकको गिरावट, परिसूचक २८ सयको बिन्दुमा


काठमाडौं – गत साता ३ हजार अंकको बिन्दु कट्ने वा नकट्ने भनेर रुमल्लिएको बजार यो साता ह्वात्तै घटेको छ । एक सातासम्म २९ सय अंकको बिन्दुमा अड्किएको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज घटेसँगै अन्ततः २८ सय अंकको बिन्दुमा झरेको हो ।

आज कारोबार सुरु भएदेखि नै नेप्से परिसूचक एककोहोरो ओरालो लागिरह्यो । बजार बन्द हुँदासम्म ७९.८८ अंकले घटेको नेप्से परिसूचक २८ सय ९४ अंकमा आएर बन्द भएको छ । यो २.६८ प्रतिशतको गिरावट हो । यससँगै बजारमा ‘बियरिस ट्रेण्ड’ हाबि भएको छ ।

गत साता आइतबार ३४ अंकले घटेको थियो । यस्तै बुधबार २ र विहीबार ६ अंकले बढेपनि समग्रमा २६ अंकको गिरावट भयो । यो सातामा बजार बढेर ३ हजार अंकको बिन्दु कट्ने लगानीकर्ताको अड्कल थियो । तर त्यसको विपरित बजारले ओरालो गति लियो र २८ सय अंकको बिन्दुमा आएर अडियो ।

यसक्रममा आज १९ अर्ब ७४ करोड रुपैयाँभन्दा बढी शेयर कारोबार भएको छ । यस्तै ४ करोड २६ लाख कित्ता शेयर किनबेच भएको छ । यसअघि नेप्सेमा २९ अर्ब रुपैयाँसम्मको शेयर कारोबार हुन थालेको थियो भने दैनिक ६ करोड कित्ताभन्दा बढी शेयर किनबेच भएको थियो ।

बजार ७९ अंकले खुम्चिँदा आज ५५ वटा कम्पनीको शेयर मूल्य बढ्यो । यस्तै १८८ वटा कम्पनीको मूल्य घटेको छ भने एउटा कम्पनीको मूल्य भने स्थिर कायम छ । परिसूचक घटेपनि आज आइतबार ३ वटा कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेको छ । आज विन नेपाल लघुवित्त, उपकार लघुवित्त र आत्मनिर्भर लघुवित्तको शेयर मूल्य १० प्रतिशतले बढेको हो ।

यसबाहेक थ्रीस्टार हाइड्रोपावरको शेयर मूल्य ९ प्रतितभन्दा बढीले बढेको छ । यता मन्दाकिनी हाइड्रेपावर र १०.२५ प्रतिशत केबीएल डिबेञ्चरको शेयर मूल्य भने ९ प्रतिशतभन्दा बढीले घटेको छ । परिसूचक उच्च अंकले घटेको दिन लघुवित्त समूहबाहेक सबै समूहमा गिरावट आएको छ ।

आज लघुवित्त समूह ५८ अंकले बढ्यो । यसबाहेक बैंक समूह ५६ अंकले घट्दा विकास बैंक १४५ अंकले घटेको छ । यस्तै वित्त १३९ अंकले र होटल तथा टुरिजम १७७ अंक, जलविद्युत १११ अंक, जीवन बीमा ३६९ अंक र निर्जीवन बीमा समूह ३२८ अंकले घट्यो । यसबाहेक व्यापार, म्यूचुअल फण्ड र अन्य समूहमा समेत उच्च गिरावट आएको छ ।