भारतले दियो २५१ मेगावाट बिजुली किन्न स्वीकृत, नेपालले कूल ९४१ मेगावाट बेच्ने

भारतले दियो २५१ मेगावाट बिजुली किन्न स्वीकृत, नेपालले कूल ९४१ मेगावाट बेच्ने


काठमाडौं – भारतले नेपालबाट कूल ९४१ मेगावाट बिजुली किन्ने भएको छ । नेपाल विद्युत प्राधिकरणले दिएको जानकारीअनुसार थप २५१ मेगावाटको स्वीकृती आएसँगै कूल ९४१ मेगावाट बिजुली भारतले किन्ने भएको हो ।

यसअघि भारतले नेपालसँग ६९० मेगावाट बिजुली किन्दै आइरहेको थियो । १६ वटा आयोजनाबाट किन्दै आएको ६९० मेगावाट बिजुलीको परिणाम बढ्ने भएको छ । भारतले थप २५१ मेगावाट बिजुली लैजाने भएसँगै नेपालबाट कूल २८ वटा आयोजनाबाट बिजुली निर्यात हुनेछ ।

नेपाल विद्युत प्राधिकरणले गत आर्थिक वर्षमा १६ अर्ब ९३ करोड रुपैयाँको विद्युत भारतमा बिक्री गरिसकेको छ । अब थप २५१ मेगावाटसहित कूल ९४१ मेगावाट बिजुली बेच्न पाइने भएपछि बिजुली बिक्रीबाट हुने आम्दानी झनै बढ्ने भएको हो ।

भारतले पहिलोपटक सन् २०२१ मा नेपालबाट ३९ मेगावाट बिजुली किन्न सुरु गरेको थियो । त्यसयताको ३ वर्षको अवधिमा नै यो आँकडा २४ गुणाले बढेको छ । भारतले गत वर्ष नेपालसँग आगामी १० वर्षमा १० हजार मेगावाट बिजुली किन्ने सम्झौता गरेको थियो ।

नेपाल विद्युत प्राधिकरणका अनुसार हाल नेपालको कूल जडित क्षमता ३१ सय ६० मेगावाट पुगेको छ । यो वर्षायामममा आयोजनाहरु पूर्ण क्षमतामा चल्दा र तीबाट उत्पादन हुँदा हो । सुख्खायाममा भने अधिकांश आयोजनाको उत्पादन क्षमता ६० देखि ८० प्रतिशतसम्म खुम्चिन्छ ।