तलबमै अर्बौं खर्चिन्छन् बैंक, कर्मचारीले एक वर्षमै लिए ६६ अर्ब पारिश्रमिक

तलबमै अर्बौं खर्चिन्छन् बैंक, कर्मचारीले एक वर्षमै लिए ६६ अर्ब पारिश्रमिक


काठमाडौं – सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरुले कर्मचारीको तलबमा नै आधा खर्ब रुपैयाँभन्दा बढी खर्च गरेका छन् । गत आर्थिक वर्ष २०८०/८१ मा मात्रै वाणिज्य बैंकले आफ्ना कर्मचारीको तलब भत्तामा ६६ अर्ब रुपैयाँभन्दा बढी तलब खर्च गरेका हुन् ।सम्बन्धित बैंकहरुले सार्वजनिक गरेको प्रतिवेदनअनुसार कर्मचारीको तलब भत्तामा गत आर्थिक वर्षको अवधिमा ६६ अर्ब ६ करोड ४० लाख रुपैयाँभन्दा बढी खर्च भएको छ ।

यो अघिल्लो आर्थिक वर्ष २०७९/८० को तुलनामा १७.४६ प्रतिशतले बढेको छ। जुन ९ अर्ब ८२ करोड ९३ हजार रुपैयाँले बढी हो । अघिल्लो आर्थिक वर्षमा बैंकहरुले कर्मचारीको तलब भत्तामा ५६ अर्ब २४ करोड रुपैयाँ खर्च गरेका थिए । आफ्ना कर्मचारीलाई आकर्षक सेवा सुविधा दिने कम्पनीका रुपमा बैंकहरु परिचित छन् ।

सर्वसाधारणको पैसा चलाएर कर्मचारीमा ठूलो रकम खर्च गर्ने गरेको भन्दै समय समयमा विवाद समेत आउने गरेको छ । तर, यो क्षेत्र उत्कृष्ट र आकर्षक तलब सुविधा पाउने भएकाले सर्वसाधारणको पहिलो रोजाइमा समेत पर्ने गर्छ । तथ्यांकअनुसार २०८१ असार मसान्तसम्म २० वाणिज्य बैंकमा कूल ४५ हजार कर्मचारी छन् । बैंकहरुले यिनै कर्मचारीलाई वर्षभरीको तलब भत्ताका रुपमा ६६ अर्ब रुपैयाँभन्दा बढी खर्च गरेका हुन् ।

एक वर्षको अवधिमा सबैभन्दा धेरै कर्मचारी तलब भत्तामा खर्च गर्ने पहिलो नम्बरको बैंकमा प्रभु बैंक रहेको छ । सो बैंकले एक वर्षमा ४ अर्ब ७६ करोड ९७ लाख तलबमा खर्चेको छ । त्यस्तै, तलब भत्ता बढि खर्चिनेको दोस्रो नम्बरमा नबिल बैंक छ । नबिलले एक वर्षमा ४ अर्ब ७६ करोड ६२ लाख तलबमा खर्चिएको छ ।

त्यस्तै, ग्लोबल आइमएई बैंकले ४ अर्ब ७२ करोड ६१ लाख, राष्ट्रिय वाणिज्य बैंकले ४ अर्ब ६९ करोड २० लाख, एनआईसी एशिया बैंकले ४ अर्ब ४३ करोड १९ लाख खर्च गरेका छन् । त्यस्तै, अघिल्लो वर्षको तुलनामा धेरै तलब भत्ता बढाउनेमा केही समयअघि मात्रै मर्जरमा गएको लक्ष्मी सनराइज बैंक रहेको छ। सो बैंकले एक वर्षमा ४ अर्ब २५ करोड ४६ लाख रुपैयाँ तलब भत्तामा खर्च गरेको छ । त्यस्तै, तलब भत्तामा बढि वृद्धि गर्नेको दोस्रो नम्बरमा कुमारी बैंक छ । सो बैंकले एक वर्षमा ४ अर्ब ४० करोड ५५ लाख रुपैयाँ भुक्तानी गरेको छ ।

साथै, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ३ अर्ब ८७ करोड ७९ लाख, कृषि विकास ३ अर्ब ७८ करोड ६१ लाख, नेपाल बैंकले ३ अर्ब ७४ करोड ८ लाख र हिमालयन बैंकले ३ अर्ब १९ करोड ८५ लाख तलबमा खर्च गरेको छ । त्यस्तै, गत वर्ष ६ वटा बैंकको कर्मचारी खर्च भने घटेको छ । गत वर्ष कर्मचारी खर्च घट्ने बैंकहरुमा माछापुच्छ्रे बैंक, सिटिजन्स बैंक, नेपाल एसबीआई बैंक, एनएमबी बैंक, नेपाल बैंक, एनआईसी एशिया बैंक रहेको छ ।


कुन बैंकमा कति कर्मचारी ?
बैंक तथा वित्तीय संस्थाहरुले आफ्नो नयाँ शाखा बढाउँदै लगेसँगै रोजगारीको अवसर समेत बढ्दै गइरहेको छ । गत आर्थिक वर्षको असार मसान्तसम्म बैंक तथा वित्तीय संस्थाको कूल शाखा संख्या ११ हजार ५२९ पुगेको छ । जसमध्ये वाणिज्य बैंकहरुको शाखा ५ हजार ३० छ । वाणिज्य बैंकका यी शाखामा २०८0 असार मसान्तसम्ममा ४५ हजार कर्मचारी कार्यररत छन् ।

जसमध्ये पुरुष कर्मचारी २५ हजार ९३१ छन् भने महिला कर्मचारी १९ हजार ३१ रहेका छन् । सबैभन्दा धेरै कर्मचारी राख्ने बैंकमा प्रभु बैंक रहेको छ भने सबैभन्दा कम कर्मचारी हुनेमा स्टाण्डर्ड चार्टर्ड बैंक रहेको छ ।
हेर्नुस् कुन बैंकमा कति ?

तलबमा नै किन अर्बौ खर्चिन्छन् बैंक ?
बैंकहरुले आफ्नो सेवा प्रभावकारी बनाउन अर्बौ रकम कर्मचारीमा खर्च गर्ने गरेका छन् । बैंकहरूले प्रशिक्षित र दक्ष कर्मचारीहरूलाई रोजगारीमा राख्ने हुँदा तलब उच्च हुन जाने र खर्च धेरै हुने कतिपयको बुझाई छ । वित्तीय क्षेत्रमा विशेषज्ञता र अनुभवको मूल्य उच्च हुने हुँदा धेरै तलब खर्च हुने विज्ञको बुझाइ छ ।

बैंकहरुले कर्मचारी तलबमा धेरै पैसा खर्चिनुको अर्को कारण हो बैंकहरुबीच हुने चर्को प्रतिस्पर्धा । बैंकहरुबीच एक आपसमा व्यवसायिक प्रतिस्पर्धा हुदा कर्मचारी तलबमा पनि बढि खर्चिनुपर्ने स्थिति छ । यसैपनि बैंकलाई सेवासुविधा राम्रो पाइने पेसाका रुपमा लिने गरिन्छ । यसबाहेक दक्ष जनशक्तिको कमीका कारण पनि बैंकहरुले एउटै कर्मचारीका लागि बढि खर्चिनु परेको पाइन्छ ।

त्यस्तै, बैंक तथा वित्तीय संस्थामा हुने कर्मचारीबिचको प्रतिस्पर्धाले पनि तलबमा प्रभाव पार्न सक्छ । साथै, कर्मचारीको तलबले बैंकको नाफामा पनि प्रभाव पर्छ । सरकारी लगानीको बैंकका उच्च पदस्थका एक कर्मचारी सरकारी बैंकलेभन्दा निजी बैंकहरुले कर्मचारीमा धेरै खर्च गर्नुपर्ने बताउँछन् । सरकारी कर्मचारी एक पटक नाम निस्केपछि सोही बैंकमा बस्छन् भने निजी बैंकका कर्मचारी सेवासुविधा अनुसार यताउता गरिरहन्छन् ।

साथै, बैंकहरुले भविष्यका लागि विभिन्न योजनाहरु बनाउन पनि कर्मचारी नियुक्ति गर्ने हुँदा खर्च बढ्ने गरेको अधिकांशको बुझाई छ । नेपाल राष्ट्र बैंकका डेपुटी सूचना अधिकारी भागवत आचार्यकाअनुसार बैंकहरुमा चार किसिमका स्रोत साधन हुन्छन्। ‘कुनैपनि संस्थामा भौतिक साधन, वित्तीय साधन, मानवीय स्रोत साधन र सूचना प्रविधिको साधन हुन्छ’ उनले बैंकिङ्ग समाचारसँग भने ‘यी चारवटै साधनहरुलाई लिएर संस्थाको उत्पादन र उत्पादकत्व बढाउने काम कर्मचारीको हुन्छ ।’

उनकाअनुसार कर्मचारी प्रेरणाका लागि, न्यूनतम जिवन यापनका लागि बैंकका कर्मचारीको आवश्यकता पुरा गर्नुपर्ने दायित्व संस्थाको हुन्छ त्यसैले बैंकहरुले उचित पारिश्रमिक दिनुपर्छ ।