काठमाडौं – पूर्व अर्थमन्त्री वर्षमान पुनले समेत शेयर बजारमा केही कम्पनीको शेयर मूल्य चलखेल गरिएको बताएका छन् । आज विहीबार बसेको अर्थ समितिको बैठकमा बोल्दै पूर्व अर्थमन्त्री पुनले केही कम्पनीको शेयर मूल्य अस्वभाविकरुपमा बढेको बताएका हुन् ।
‘शेयर बजार माथि पुगेको छ । यसमा हामि सबै खुसी नै हुनुपर्छ । शेयर बजारमा ६० लाखभन्दा बढी लगानीकर्ता छन्,’ उनले भने, ‘बेलाबेला घट्दा चिन्ता पनि थियो । र अहिले बढ्दा सबै खुसी हुन्छन् नै ।’ तर बढ्नुमा कारण रहेको उनको भनाई छ ।
यस्तै यसपटकको सरकारलाई नेपाल राष्ट्र बैंकको सहयोग रहेको समेत पुनको भनाई छ । ‘यसपटक केन्द्रीय बैंकले अर्थमन्त्रालयसँग तादाम्यता मिलाएको छ,’ उनले भने, ‘तर गर्भनरले शेरबहादुर देउवा नेतृत्वको सरकार र पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई सहयोग गर्नुभएको थिएन ।’
यद्यपी आफ्नो विचार मिल्ने भएकाले प्रधानमन्त्रीमा केपीशर्मा ओली र अर्थमन्त्रालयमा विष्णुप्रसाद पौडेल आउँदा गर्भनर महाप्रसाद अधिकारीले खुकुलो नीति लिएको पुनको भनाई छ । ‘सोहीकारण, यसपटक वित्त नीति र मौद्रिक नीतिको तालमेल मिलेको छ,’ पुनले भने ।
यसबाहेक नांगो आँखाले हेर्दा घाटामा चलेका कम्पनीको प्राथमिक शेयर जारी गरेर शेयर मूल्य माथि पुर्याइएको पुनको भनाई छ । ‘यो सरकारले हेर्नपर्छ । जनताले बुझ्दैन । यसलाई नियामकले हेर्नुपर्छ र जनप्रतिनिधिले हेर्नुपर्छ,’ पुनले थपे, ‘अहिले अस्वभाविक देखिन्छन् ।’
यहीकारण ती र त्यसता कम्पनीलाई नियन्त्रणमा लिँदै सर्वसाधारण नठगिने वातावरण बनाउनुपर्ने पुनको भनाई छ । ‘दुई ठूला दल मिलेर गठन भएको सरकारले धितोपत्र बोर्डमा स्वच्छ छविको मान्छे ल्यानुपर्छ,’ पुनले भने । अन्यथा नयाँ र साना लगानीकर्ता ठगिनेमा उनको जोड छ ।
आफू अर्थमन्त्रालयमा हुँदा धितोपत्र बोर्डमा ‘प्रोफेसनल’ व्यक्ती ल्याउनका लागि लविइङ गरेको पुनको भनाई छ । यसका लागि तत्कालिन सत्तारुढ दलका प्रधानमन्त्री पुष्पकमल दाहाल र केपीशर्मा ओलीसँग छलफल समेत गरेको उनले बताए ।
धितोपत्र बोर्डमा म्याच फिक्सिङ नगरेरै अध्यक्ष छानौं भन्नेमा म थिए,’ पुनले थपे, ‘अहिले हामि प्रतिपक्षी दलको भूमिकामा छौं । अब कुनै लेनदेन नभईकन बोर्डको अध्यक्षमा निष्पक्ष मान्छे आउनुपर्छ ।’ निष्पक्षरुपमा अध्यक्ष छानिएर आएमा प्रतिपक्षी दलले विरोध नगर्ने बताउँदै उनले चलखेल भएमा विरोध गर्ने समेत बताए ।
यसअघि प्रतिनिधि सभाको बैठकमा बोल्दै पूर्व अर्थमन्त्री डा. प्रकाशसरण महत, डा. अमरेशकुमार सिंह र राजन दाहालले समेत शेयर बजारमा अस्वभाविक चलखेल भएको बताएका थिए । उनीहरुको अभिव्यक्तीपछि लगानीकर्ताले निरन्तररुपमा सांसदहरुविरुद्ध विज्ञप्तीबाजि गरिरहेका छन् ।
प्रतिक्रिया